शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बागलुङमा कोदोको माग बढ्दा पनि बर्सेनि घट्दैछ उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २८ २०८२
बागलुङमा कोदोको माग बढ्दा पनि बर्सेनि घट्दैछ उत्पादन

कुनै बेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहर-बजारका ठूला-ठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ। ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन्। मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए।

बागलुङ- खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेक वर्ष कोदोको उत्पादन घट्दै गएको छ। 

किसानले कोदोखेती गर्न छाडेर जमिन बाँझो राख्न थालेपछि उत्पादनमा कमी आएको हो। पहिले खेती गर्ने बारीमा हिजोआज किसानले किबी, सुन्तला, कागतीलगायत फलफूलखेती गरेका छन् भने कतिपय जमिन बाँझै छन्।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार अघिल्लो वर्ष जिल्लामा १० हजार ८०० मेट्रिकटन कोदो उत्पादन भएको थियो। यस वर्ष उत्पादन घटेर १० हजार ७३१ मेट्रिकटन भएको केन्द्रका निमित्त प्रमुख कुमार पुनमगरले जानकारी दिए। उनका अनुसार गत वर्ष आठ हजार ४६० हेक्टरमा कोदोखेती भएको थियो भने यस वर्ष आठ हजार ४५० हेक्टरमा खेती लगाइएको थियो। 

बर्सेनि जिल्लामा कोदो उत्पादनमा कमी आइरहेको केन्द्रका निमित्त प्रमुख पुनमगरले बताए। कोदोखेती गर्ने क्षेत्र घट्दा उत्पादन पनि घटेको उनको भनाइ छ। पछिल्लो समय किसान कोदोखेती छाडेर नगदेबालीतर्फ आकर्षित भएका छन्।

कृषि ज्ञान केन्द्रले किसानलाई रैथाने बाली तथा स्थानीय खेतीतर्फ आकर्षण गर्नका लागि प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको पुनमगरले जानकारी दिए। अहिले कोदोको माग अत्यधिक बढेपछि बाहिरबाट आयात गर्नुपरेको उनले बताए।

'पछिल्लो केही वर्षको तथ्यांक हेर्दा हरेक वर्ष कोदोको उत्पादन घटेको देखिन्छ, किसानले परम्परागत खेती गर्न बिस्तारै छोड्दै छन्। खेती गर्ने क्षेत्र घट्दा उत्पादनमा गिरावट आएको देखिन्छ,' पुनमगरले भने, 'अहिले धेरै किसानले कोदो फल्ने बारीमा कागती, सुन्तलालगायत नगदेबाली लगाउन थालेका छन्।'

ग्रामीण क्षेत्रका पाखोबारीमा काम गर्ने जनशक्ति पाइन छोडेपछि कोदोखेती कम हुन थालेको स्थानीय बताउँछन्। कुनै बेला कम खपत हुने बालीका रूपमा रहेको कोदो अहिले सहर-बजारका ठूला-ठूला होटल तथा रेष्टुरेन्टमा माग हुने गर्दछ। ग्राहकको माग बढ्न थालेपछि होटल सञ्चालकले ग्रामीण क्षेत्रबाट कोदो मगाउन थालेका छन्। 

मागअनुसार कोदो पाउन मुस्किल पर्ने गरेको होटल व्यवसायी तुलबहादुर थापामगरले बताए। जाडोका बेला ढिँडोका र अन्य बेला कोदोकै सेलरोटीको माग बढी आउने गरेको उनले बताए। 

थापाले भने, 'सहर-बजारबाट आउने पाहुनाले कोदोको ढिँडो भनेर हैरानै पार्छन्। गाउँमा कोदो पाउन छोड्यो। पहिले कोदोको ढिँडो पनि के खानु र भन्थे, अहिले त्यही ढिँडो महत्त्वपूर्ण बनेको छ। गाउँका बारीजति सबै बाँझो हुँदै गएका छन्, सहर-बजारमा बस्नेले ढिँडो खोज्छन्।'

गाउँमा काम गर्ने जनशक्ति नपाउँदा कोदो फलाउने बारी बाँझोमा परिणत हुँदै गएको जैमिनी नगरपालिका-८ का श्यामबहादुर थापाले बताए। एक दशकअगाडिसम्म गाउँमा बजारबाट चामल ल्याउन समस्या हुने गरेको भन्दै उनले कोदोको ढिँडो र रोटी खाएर जीविकोपार्जन गर्ने गरिएको स्मरण गरे। उनका अनुसार पहिले कोदोखेती हुने पाखोबारी अहिले सबै बनमाराले ढाकिएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २८ २०८२१५:१६
  • सम्बन्धित विषय:

  • # कोदो
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend