चितवन- चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ। पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो।
पशु सेवा कार्यालय प्रमुख डा. प्रभात न्यौपानेका अनुसार भरतपुर महानगरपालिका-२७ मा रहेको गाई फार्ममा यो रोग पुष्टि भएको छ। रत्ननगरमा रहेका गाई फार्ममा खोरेतको लक्षण देखिए पनि प्रयोगशालाबाट नतिजा आएको छैन।
मंसिर ११ गते भरतपुर महानगर क्षेत्रका गाईको नमुना खोरेत तथा सीमाविहीन पशु रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा पठाइएको र १६ गते नतिजा आएको उनले बताए।
कार्यालय प्रमुख डा. न्यौपानेले हाल रोग देखिएका क्षेत्रमा खोरेतविरुद्धको खोप लगाउने काम भइरहेको जानकारी दिए। उनले भने, 'रोग लागेको क्षेत्रमा खोप लगाउने काम भइरहेको छ। अब जिल्लाभरि नै अभियान चलाउने योजना छ।'
भाइरसका कारण सर्ने यो रोग लागेका गाईभैँसीमा दुईदेखि तीन दिन १०४ डिग्री ज्वरो आउने, जिब्रोको छाला जाने, गर्भवती भए गर्भ तुहिने, दूध उत्पादन घटाउने, खुट्टामा घाउ हुने, दानापानी नखाने जस्ता लक्षण देखिने गरेको छ। यो रोग बढी मात्रामा गाईभैँसी र बंगुरमा देखिने गरेको कार्यालय प्रमुख डा. न्यौपानेले बताए।
जिल्लाका सबै पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको भए पनि बाहिरबाट खरिद गरेर ल्याइएका पशुमा यो रोग देखिएको हुन सक्ने जनाइएको छ। बाहिरबाट खरिद गरेर ल्याएका पशुलाई २१ दिनसम्म क्वारेन्टाइनमा राखेर मात्र आफ्नो बथानमा मिसाउन र संक्रमण देखिएका पशुलाई समेत छुट्टै राखेर उपचार गर्न कार्यालयले आग्रह गरेको छ।
'जंगली जनावरबाट पनि सर्न सक्ने भएकाले चरनका लागि लैजाने गाईभैँसीमा बढी संक्रमण देखिने गरेको छ। यसमा सतर्कताका साथै हरेक फार्ममा जैविक सुरक्षाको विधि अपनाएर वर्षमा दुईपटक खोरेतविरुद्धको खोप लगाउन हाम्रो आग्रह छ,' कार्यालय प्रमुख न्यौपानेले भने। रासस