काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सले आफ्नाविरुद्ध भइरहेको गलत प्रचारविरुद्ध कानुनी उपचार खोज्ने बताएकाे छ। ‘अभियन्ता’ को भेषमा रहेका असुलीकर्ताहरूको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाउन र नियामक निकायलाई ब्ल्याकमेल गर्न कमिशनको कपोलकल्पित र भ्रामक कथा फैलाइरहेको कम्पनीले दाबी गरेकाे छ।
रिलायन्सले यसका लागि जिम्मेवार व्यक्तिहरू र मिडिया पोर्टलहरूको पहिचानसमेत गरिसकेको विज्ञप्ति जारी गरेर बताएको छ। बजारमा ‘वित्तीय आतंक’ फैलाएको र ‘आपराधिक मानहानि’ गरेको अभियोगमा राज्यका सम्बन्धित निकायमा कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ।
'यी आरोपहरू शतप्रतिशत झुटा, बदनियतपूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएका हुन्,' विज्ञप्तिमा भनिएको छ, 'सर्वोच्च अदालतले उनीहरूको आधारहीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरेलगत्तै यो चरित्रहत्याको अभियान सुरु गरिएको हो, अदालतको कानूनी लडाइँमा असफल भएपछि उक्त गिरोहले झुटको खेतीको सहारा लिएको हो।’
यस प्रकारको बार्गेनिङ र ब्ल्याकमेलिङविरुद्ध कम्पनीमा आबद्ध ४ हजार कर्मचारी र २० हजारभन्दा बढी लगानीकर्ताहरूको साथमा डटेर उभिने रिलायन्सले स्पष्ट पारेको छ।
रिलायन्सले जिम्मेवार सञ्चार माध्यमहरूलाई अनधिकृत, पुष्टि नभएका र अपमानजनक हल्लाहरूको पछि नलाग्न र पत्रकारिताको मूल्य, मान्यतामा रहेर समाचार प्रकाशन/प्रसारण नगर्न अनुरोधसमेत गरेको छ।
देशको सबैभन्दा ठूलो धागो उद्योग सञ्चालक कम्पनी रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल धितोपत्र बोर्डले पाटन उच्च अदालतको आदेश कार्यान्वयन गर्दै अवरुद्ध रहेको आईपीओ निष्कासन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै भ्रामक र तथ्यहीन समाचार प्रकाशन भएका कम्पनीले जनाएको छ। यद्यपि यस्ता भ्रमले लगानीकर्तालाई कुनै प्रभाव नपार्ने उसले बताएको छ।
वैदेशिक रोजगारीमा गएकाहरूका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिन (सोमबार) नै ५.१ गुणा बढी आवेदन परेको छ। कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि १ लाख १५ हजार ५९६ कित्ता निष्कासन गरेकोमा पहिलो दिनै ‘ओभर सब्सक्राइभ’ भई ५ लाख ८९ हजार ८५० कित्ताको आवेदन परेको छ।
कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ। बुक बिल्डिङ निर्देशिकाबमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरूलाई ७ लाख ७० हजार ६४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।