शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तुलसीपुर खाद्यले किसानबाट किन्यो १ करोड ४४ लाख रुपैयाँको धान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर २५ २०८२
तुलसीपुर खाद्यले किसानबाट किन्यो १ करोड ४४ लाख रुपैयाँको धान

एक जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्नेगरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान गरिद गरिएको हो।

दाङ- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस वर्ष दाङको देउखुरी क्षेत्रका तीन पालिकाका २ सय १२ जना किसानले उत्पादन गरेको पाँच हजार क्विन्टल धान खरिद गरेको छ।

कार्यालय प्रमुख तुलमाया लोवाले दिएको जानकारीअनुसार लमही, गढवा र राप्ती गाउँपालिकाका किसानले उत्पादन गरेको धान खरिद गरिएको हो।  

उक्त धान एक करोड ४४ लाख ८९ हजार ८०० मा खरिद गरिएको उनले जानकारी दिइन्। गढवाबाट दुई हजार क्विन्टल, लमही र राप्ती गाउँपालिकाबाट एक हजार ५०० क्विन्टल धान खरिद गर्ने कार्यालय र पालिकाबीच भएको सहमतिअनुसार धान खरिद गरिएको कार्यालयले जनाएको छ। 

सरकारले निर्धारण गरेको धानको मूल्यअनुसार प्रतिक्विन्टल तीन हजार ४६३ रूपैयाँका दरले मोटो धान किसानबाट खरिद गरिएको कार्यालयका सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिए। उनका अनुसार एक जना कृषकबाट अधिकतम ४० क्विन्टल धान खरिद गर्ने भनिए तापनि धेरै किसानलाई समेट्नेगरी १५ देखि २० क्विन्टल प्रतिकिसानका दरले धान गरिद गरिएको हो। 

गत वर्ष खाद्यले जिल्लाबाट आठ हजार क्विन्टल धान खरिद गर्ने कोटा पाएको थियो। तर गत वर्ष लक्ष्यअनुसार धान खरिद हुन नसक्दा यस वर्ष केन्द्रबाट धान खरिदको कोटा घटेको छ।  

यसैबीच दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ। गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछानेले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२११:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend