शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मुद्रा बलियो बनाउन अतिरिक्त हस्तक्षेप नगर्ने नीतिमा भारतीय केन्द्रीय बैंक

बिहीबार , मंसिर २५ २०८२
मुद्रा बलियो बनाउन अतिरिक्त हस्तक्षेप नगर्ने नीतिमा भारतीय केन्द्रीय बैंक

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स बढ्ने र त्यसले आन्तरिक उपभोग बढाउने सम्भावना भने हुनेछ। तर यसरी बढ्ने उपभोग मात्रामाभन्दा बढेको मूल्यवृद्धिलाई पचाउनसक्ने खालकोमात्र हुनेछ।

काठमाडौं- भारतीय राजनीतिको बहसमा आउने थुप्रै विषयमध्ये सदाबहार मुद्दा हो विनिमयदर। भारतीय रुपैयाँको विनिमयदरको विषयलाई राजनीतिक प्रतिष्ठाको विषय बनाउने भारतको परम्परागत चलन बनिसकेको छ। 

डलरसँगको तुलनामा रुपैयाँ केही बलियो बनेपछि सत्तारुढले हर्षबढाइ गर्ने र कमजोर बनेमा प्रतिपक्षले प्रश्न उठाउने पुरानै परम्पराअनुसार यो वर्षको सुरुदेखि नै खिचातानी निरन्तर छ।

यतिबेला भने प्रतिपक्षको प्रश्न चर्को बनेको छ। विशेषगरी एक डलरबराबर ९० भारुको कोशेढुंगा पार गरेपछि यसले प्रतिपक्षलाई प्रश्न उठाउने ठाउँ दिएको छ। 

अमेरिकासँगको वाणिज्य सन्धीको वार्ता लम्बिनु, अमेरिकाले चर्को भन्सार महसुल लगाउनु तथा बढ्दो व्यापार घाटामात्र होइन पछिल्लो समय विदेशी लगानीकर्ताले पुँजी बाहिर लैजाँदा त्यसको असर मुद्रामा परेको छ। सन् २०२५ को वर्षान्तमा स्वाभाविक रुपमा लेखांकीय कोणबाट पनि विदेशी लगानीकर्ताले पुँजी विदेश लैजाँदा यसको दबाब भारुको विनिमय दरमा परेको छ। 

९० भारु पार गरेर वरिपरी घुमिरहेको विनिमय दर कहिले तल झर्छ भनेर पर्खिने अवस्था नरहेको अर्थशास्त्रीहरूले बताएका छन्। भारतीय केन्द्रीय बैंकले हालैमात्र गरेको मौद्रिक नीतिको समीक्षामार्फत् प्रस्ट संकेत के गरिदिएको छ भने अब भारुलाई बलियो बनाउन अतिरिक्त हस्तक्षेप गर्ने पक्षमा देखिएको छैन। बरु कमजोर भारुलाई बढिरहेको अमेरिकी भन्सार शुल्कसँग जुध्ने एउटा उपकरणका रुपमा भारतले लिएको छ। 

हालैमात्र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि वर्गीकरण परिवर्तन गरिदिएको सन्दर्भमा भारतीय रिजर्भ बैंकले अब डलरको मजबुतीलाई मत्थर पार्न थप हस्तक्षेप नगर्ने भएको हो। एक वर्षमा ५ प्रतिशत वा त्योभन्दा बढीको क्षयीकरणसम्म हुनसक्ने भएको छ। गएको एक वर्षमामात्र भारु ६ प्रतिशतभन्दा बढीले कमजोर भएको छ। 

भारतीय रुपैयाँ जति कमजोर हुन्छ त्यति नै नेपाली रूपैयाँ पनि कमजोर हुनेछ। भारतीय रुपैयाँसँग स्थिर विनिमय दर भएका कारण नेपाली रुपैयाँ पनि सोहीअनुसार कमजोर हुँदै जाने भएको छ।

नेपाली रुपैयाँ जति कमजोर हुन्छ त्यति नै आयात महँगो हुनेछ। विशेषगरी तेस्रो मुलुकबाट हुने आयात थप महँगो हुनेछ। यसले व्यापार घाटालाई विस्तार गराउनेछ।

विदेशबाट नेपालीले पठाउने रेमिट्यान्स बढ्ने र त्यसले आन्तरिक उपभोग बढाउने सम्भावना भने हुनेछ। तर यसरी बढ्ने उपभोग मात्रामाभन्दा बढेको मूल्यवृद्धिलाई पचाउन सक्ने खालको मात्र हुनेछ। 

भारु कमजोर हुँदा नेपालको बाह्य क्षेत्र पनि प्रभावित हुनेछ। तर अहिलेको अवस्थामा मुद्रा अवमूल्यनकै कारणले उल्लेख्य प्रभाव पर्ने अवस्था नभएको राष्ट्र बैंकका अधिकारीहरूले बताउँदै आएका छन्।

अमेरिकासँगको व्यापार वार्ता सफल भएपछि भारु स्थिर हुने विश्वास सबैको रहेको छ। थप गिरावटको सम्भावना भएपनि धेरै गिरावटको जोखिम अधिकारीहरुले देखेका छैनन्।


प्रकाशित : बिहीबार , मंसिर २५ २०८२०७:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend