काठमाडौं- खोटाङको दिक्तेल बजारमा केन्द्रीय कार्यालय रहेको सालपा विकास बैंक लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रक्रिया सुरु गरेको छ।
बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि यहि मंसिर २५ गतेदेखि आईपीओ बिक्री खुला गरेको हाे।
सालपा विकास बैंकको कुल जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ। यसमध्ये बैंकले जारी पुँजीको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँबराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो।
बैंकले निष्कासन गर्न लागेको कुल सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको छ। बाँकी रहेको सेयरमध्ये ५ प्रतिशत अर्थात् ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषलाई र ०.५ प्रतिशत अर्थात् ८ हजार ६१९ कित्ता बैंकका कर्मचारीलाई छुट्याइएको छ। माथिका समूहलाई छुट्याएपछि बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन हुनेछ।
दरखास्त दिनेले अंकित मूल्य १०० रुपैंयाका दरले कम्तिमा १० कित्ता र बढीमा २५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदन बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
बैंकले आईपीओ निष्कासनबाट प्राप्त रकममध्ये ३ करोड रुपैयाँ शाखा विस्तारमा लगानी गर्ने जनाएको छ। त्यसैगरी, १२ करोड ८९ लाख रुपैयाँ लगानीका विभिन्न क्षेत्रमा र बाँकी १ करोड ३४ लाख ८८ हजार रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्ने योजना बैंकको छ।
सालपा विकास बैंकको स्थापना २०६९ सालमा भएको हो । याे बैंकले राष्ट्र बैंकबाट सोही वर्षकाे असार १ गते अनुमति पाएर सेवा दिन सुरु गरेको थियो। यसको केन्द्रीय कार्यलय खोटाङको दिक्तेल बजारमा रहेको छ। बैंकले हालसम्म ६ वटा शाखाहरू दिक्तेल, ऐँसेलुखर्क, बाक्सिला, हलेसी, सिम्पानी र चिसापानी मार्फत सेवा विस्तार गरेको छ।
बैंकलाई इन्फोमेरिक्स् नेपालले बी रेटिङ् प्रदान गरेको छ। यो रेटिङले बैंकको वित्तीय दायित्व भुक्तानीमा उच्च जोखिम रहेको देखाउँछ, जसले लगानीकर्तालाई सावधानी अपनाउन संकेत गरेकाे छ। बैंकमा अध्यक्ष टंक राईसहित ६ जनाकाे लगानी रहेकाे छ।
बैंकको २०८२ असारसम्मको अपरिष्कृत रिपोर्टअनुसार बैंककाे चुक्ता पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँ रहेको छ। यो अवधिसम्म बैंकले १ अर्ब ३३ करोड निक्षेप संकलन गर्दा १ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको कुल सम्पत्ति १ अर्ब ७८ करोडको रहेको छ भने दायित्व १ अर्ब ४१ करोड छ। यस अवधिमा प्रति सेयर आम्दानी २ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ १४ पैसा रहेको छ।
बैंकको विगत चार वर्षको नाफाको प्रवृत्ति चिन्ताजनक रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा बैंकले २ करोड १४ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको थियो, जुन आर्थिक वर्ष २०८१/८२ मा घटेर १ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ। चार वर्षअघि प्रति सेयर आम्दानी ५२ रुपैयाँ रहेकोमा अहिले घटेर २ रुपैयाँ २४ पैसामा झरेको छ। नाफा र प्रति सेयर आम्दानीमा आएको यो ठूलो गिरावटले बैंकको सञ्चालन दक्षता र भविष्यको मुनाफा कमाउने क्षमता कमजाेर देखाएकाे छ।
सालपा विकास बैंकको आईपीओ निष्कासनले अवसर दिए पनि यसको 'बी' रेटिङ र पछिल्ला वर्षहरूमा नाफा तथा प्रतिसेयर आम्दानीमा देखिएको तीव्र गिरावटले लगानीकर्ताहरूलाई विचार गर्नुपर्ने अवस्था सिर्जना गरेको छ। आईपीओमा आवेदन दिँदा बैंकको वर्तमान वित्तीय जोखिम र कमजोर प्रतिसेयर आम्दानीलाई ध्यानमा राख्दै लगानीको निर्णय लिनु बुद्धिमानी हुनेछ।