काठमाडाैं- साेलु हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको आईपीओ बाँडफाँट गरेकाे छ।
हाइड्रोले सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँबराबरको प्रतिसेयर १०० दरका १० लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको १० लाख सेयरमा २१ लाख ८ हजार ८२० कित्ताका लागि आवेदन परेको थियाे। जसमध्ये २१ लाख ८ हजार १४० कित्ता योग्य आबेदन परेकोमा ६२ हजार ९४७ जनाले कम्पनीको सेयर पाएका छन्।
कम्पनीकाे बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ रहेकाे छ।
कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँबराबरको २ करोड कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमा १ अर्ब रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको थियो।