काठमाडौं- केही नक्कली अभियन्ताले रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा बार्गेनिङ गरेर स्वार्थ लुट्ने प्रयास गरेपछि कम्पनीमा कार्यरत कर्मचारी र मजदुरहरु आक्रोशित भएका छन्। उनीहरुले सामाजिक सञ्जालमार्फत बार्गेनिङ बन्द गर्न कडा चेतावनी दिएका छन्।
कम्पनीका २९ वर्षदेखि कार्यरत मधुसुदन लुइँटेलले पूँजी बजारका केही स्वघोषित लगानीकर्ता र नामधारी ‘रिटबहादुर’हरुले बार्गेनिङ गरेर २० हजारौं लगानीकर्ताको लगानी बन्धक बनाएको र सयौं श्रमिकको रोजगारी तथा औद्योगिक वातावरण संकटमा पार्ने प्रयास गरेको बताए। उनले भने, 'उद्योगले कर्मचारी र परिवारलाई प्रत्यक्ष लाभ पुगेको छ, अप्रत्यक्ष रूपमा लाखौंलाई लाभ पुगेको छ। राष्ट्रिय उद्योगको संरक्षण गर्नु सबैको कर्तव्य हो।'
१५ वर्षदेखि कम्पनीमा कार्यरत एसपी उप्रेतीले केही व्यक्तिले ‘सार्वजनिक हित’को नाममा बार्गेनिङ गर्दै उद्योग र त्यसमा आश्रित कर्मचारी तथा मजदुरको भविष्यमाथि खेलवाड गरिरहेको बताएका छन्। उनले भने, 'हामीले यहाँ केवल तलब मात्र होइन, प्रत्येक वर्ष कम्पनीको नाफाबाट राम्रो बोनस पाउँदै आएका छौं। केही ‘नक्कली अभियन्ता’ले झूठो मुद्दा र मिडियाबाजी गरेर हाम्रो रोजीरोटी खोस्न खोज्दैछन्। बार्गेनिङ बन्द गर र देश बन्न देउ।'
कम्पनीले करिब ४,५०० जनालाई रोजगारी दिएको छ र वार्षिक ५० करोड डलरको वस्तु निर्यात गर्दै अर्थतन्त्रमा योगदान पुर्याउँदै आएको छ। आईपीओ निष्काशनपछि कर्मचारीमा उत्साह देखिएको छ, तर कम्पनी बाहिरबाट फैलिने नकारात्मक सन्देशले कर्मचारी र मजदुरलाई प्रतिरोधमा उभ्याएको हो।
कम्पनीकी ममता गिरीले रिलायन्सलाई केवल उद्योग नभई हजारौं परिवारको आशा र भविष्यसँग जोडिएको बताइन्। उनले भनिन्, 'विवाद, बार्गेनिङ र भ्रमले होइन, समाधान, संवाद र उत्पादनले देश अघि बढोस्।'
रिलायन्सका कर्मचारी तथा मजदुरले सामाजिक सञ्जालमार्फत उत्पादन, रोजगारी र देशको समृद्धिको पक्षमा आफ्नो आवाज बुलन्द गरेका छन्। उनीहरूले बार्गेनिङविरुद्ध सामूहिक रूपमा लड्ने चेतावनी समेत दिएका छन्।