काठमाडौं- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई दिएको विस्तारित कर्जा सुविधा (ईसीएफ) कार्यक्रमको म्याद थप चार महिनाका लागि लम्ब्याएको छ। सन् २०२६ जनवरीमा सकिन लागेको कार्यक्रमलाई आईएमएफले नेपाल सरकारले गरेको अनुरोध स्वीकार गर्दै आगामी २०२६ मे ११ सम्मका लागि थप गरेको हो।
आईएमएफले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि नेपालले सातौँ समीक्षासमेत समयमै पूरा गर्न सकियोस् भन्ने उद्देश्यले कार्यक्रमको अवधि थपिएको हो। विस्तारित कर्जा सुविधा अन्तर्गत नेपालले राष्ट्र बैंक ऐनको सुधार, १० ठूला वाणिज्य बैंकहरूको कर्जाको गुणस्तर (एसेट क्वालिटी रिभ्यू) मूल्यांकन, आन्तरिक राजस्व परिचालन रणनीति तयार गर्ने, सम्पत्ति शुद्धिकरणसम्बन्धी कानुन तथा नियमहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार परिमार्जन गर्ने जस्ता महत्वपूर्ण संरचनात्मक सुधारका कार्यहरू अघि बढाइरहेको छ।
आईएमएफको कार्यकारी बोर्डले १२ जनवरी २०२२ मा ३८ महिनाको ईसीएफ कार्यक्रम स्वीकृत गरेको थियो। उक्त संरचनागत सुधारमुखी ऋण सुविधाअन्तर्गत नेपाललाई २८ करोड २४ लाख २० हजार एसडीआर (झन्डै ३९ करोड ५९ लाख अमेरिकी डलर) बराबरको ऋण प्राप्त हुने व्यवस्था गरिएको छ।
सोही क्रममा आईएमएफले गत अक्टोबरमा छैठौं समीक्षा सम्पन्न गरी नेपाललाई ३ करोड १४ लाख एसडीआर (करिब ४ करोड ३० लाख ५ हजार अमेरिकी डलर) निकासा गर्ने निर्णय गरेको थियो। यससँगै नेपालले पाएको कुल विस्तारित ऋण सुविधा २५ करोड ११ लाख एसडीआर (करीब ३४ करोड १२ लाख अमेरिकी डलर) पुगेको छ।
कार्यक्रमको म्याद यसअघि पनि एकपटक ११ जनवरी २०२६ सम्म लम्ब्याइएको थियो। यसअन्तर्गत नेपालले बलियो वित्तीय शासन, बैंकिङ क्षेत्रको जोखिम व्यवस्थापन, कर प्रशासन सुधार, तथा मनी लन्डरिङविरुद्धको कानुनी ढाँचा सुदृढीकरणजस्ता सुधारलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।