शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सरकारले उखुको मूल्य जति तोक्यो त्यतिमै चित्त बुझाउन बाध्य छन् किसान

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २३ २०८२
सरकारले उखुको मूल्य जति तोक्यो त्यतिमै चित्त बुझाउन बाध्य छन् किसान

‘अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ’ भंगाहा-४ का किसान अरुण गिरी भन्छन्, ‘अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ।’

महोत्तरी- सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ। तर, महोत्तरीका उखु किसानले भने सरकारले आफूहरूको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन्। 

‘हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल ७५० रुपैयाँ पाउनुपर्छ भन्ने थियो। तर, सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो,’ उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने।

उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल ७० रुपैयाँले बढेको छ। सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ गरी जम्मा प्रतिक्विन्टल ६९० रुपैयाँ निर्धारण गरेको छ। 

यतिबेला खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबले किसान अब चाँडै उद्योग सञ्चालन पर्खेर बसेका छन्। ‘अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ’ भंगाहा-४ का किसान अरुण गिरी भन्छन्, ‘अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ।’ 

एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ। खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले आफूहरू रहेको गिरीको भनाइ छ। 

पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ। ‘अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ/असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ,’ बर्दिवास-९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो।’

उखु किसान र यिनका प्रतिनिधि संस्था उखु उत्पादक कृषक संघ, उखु उत्पादक किसान महासंघले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरीसक्नुपर्ने र मंसिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन्। सरकारले सधैँजसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिवास-१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउँछन्।

‘सरकारले यसपालि उखुको मूल्य प्रतिक्विन्टल ३५ रुपैयाँले बढायो। अनुदान ७० रुपैयाँ दिने घोषणा गर्‍यो,’ उखु उत्पादक कृषक संघ महोत्तरीका अध्यक्ष कुशवाहा भन्छन्, ‘गत वर्षभन्दा यो निकै राम्रो हो।’ 

गत वर्ष उखुको मूल्य ५८५ रुपैयाँ प्रतिक्विन्टल थियो भने सरकारले ३५ रुपैयाँ मात्रै अनुदान दिएको थियो।

जिल्लाको गौशाला-१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ। उद्योगले अब मूल्य निर्धारणको पाटो टुंगिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ। 

यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मंसिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने  तयारी रहेको उद्योगले जनाएको छ। गत वर्ष मंसिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ। जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक संघका जिल्ला अध्यक्ष कुशवाहा बताउँछन्। रासस

 


प्रकाशित : मंगलबार, मंसिर २३ २०८२१३:३८
  • सम्बन्धित विषय:

  • # उखु
  • # उखु किसान
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend