काठमाडौं- रिलाइन्स स्पिनिङ मिल्सले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आईपीओमा पहिलो दिनमै ५.१ गुणा बढी आवेदन परेको छ।
कम्पनीले सार्वजनिक निष्कासनका लागि छुट्याएको ११ लाख ५५ हजार ९ सय ६० कित्ताको १० प्रतिशत (१ लाख १५ हजार ५ सय ९६ कित्ता) वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि निष्कासन गरेको छ। सोमबार १० हजार २० आवेदकको ५ लाख ८९ हजार ८ सय ५० कित्ताको आवेदन परेको छ।
कम्पनीको प्रतिसेयर मूल्य ८ सय २० रुपैयाँ ८० पैसा रहेको छ। बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६ सय ४० कित्ता सेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९ सय १२ रुपैयाँ निर्धारण भएको थियो। सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिसेयर मूल्य ८ सय २० रुपैयाँ ८० पैसा कायम भएको हो। लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्।
निष्कासन बन्द हुने अवधि मंसिर २५ (बिहीबार) तोकिएको छ। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा पुस ७ सम्म लम्ब्याउन सकिने भए पनि पहिलो दिनै मागभन्दा बढी आवेदन परेपछि निष्कासन अवधि लम्बिने सम्भावना छैन। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
सोमबार आईपीओ निष्कासनको आधा घण्टामै १ लाख १८ हजार ३४० कित्ताको लागि आवेदन परेर ‘ओभर सब्सक्राइभ’ भएको थियो। त्यसपछि पनि दिनभर लगानीकर्ताको उत्साहमा कुनै कमी देखिएन।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सिआस्बा प्रणाली मार्फत आवेदन दिएका छन्।
तीन दशकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको तीव्र आकर्षण देखिनुमा विश्वासिलो बिरासत, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेको कम्पनीले जनाएको छ।
विश्वासिलो विरासत
रिलायन्स स्पिनिङ मिल्स नेपालको ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो। कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ।
वार्षिक ५ करोड अमेरिकी डल डलरको निर्यात हुन्छ। कम्पनीको मूल-उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ। नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन्। पवनकुमार ६ दशक लामो इतिहास बोकेको गोल्याण ग्रुपका अध्यक्ष र अक्षय प्रवन्ध निर्देशक हुन्।
रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन्। अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो।
नेपालमा कम्पनी स्थापना गर्ने र छोटो समयमै आईपीओ निष्कासन गरी सर्वसाधारणको लगानी भित्र्याएर नाफा लुट्ने प्रवृत्ति झाँगिदै गएको छ। रिलायन्सको हकमा भने त्यस्तो देखिँदैन। अधिकृत पुँजी २ अर्ब ६० करोड, जारी पुँजी १ अर्ब ९० करोड र चुक्ता पुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रहेको छ।
कम्पनीले अहिले चुक्ता पुँजीको १० प्रतिशत सेयरमात्र निष्कासन गरेको छ । निष्कासित सेयरमध्ये संस्थागत लगानीकर्तालाई करिब ४ प्रतिशत र सर्वसाधारण (वैदेशिक रोजगारीमा गएकासमेत) लाई ६ प्रतिशत छुट्याइएको छ। यसबाट तीनजना संस्थापक लगानीकर्ताहरुले कम्पनीबाट हात झिक्न खोजेको नभइ आमलगानीकर्तालाई साथमै लिएर अगाडि बढ्न खोजेको स्पष्ट हुन्छ। यसबाट रिलायन्स स्पिनिङ मिल्सले आफ्नो विश्वासिलो विरासतको जगमा सर्वसाधारण लगानीकर्ताका लागि भरासिलो भविष्य देखाएको छ।
बलियो वित्तीय अवस्था
रिलायन्सको आईपीओमा लगानीकर्ताको उत्साहपूर्ण सहभागिता हुनुमा उसको बलियो वित्तीय अवस्था अर्को महत्वपूर्ण पक्ष हो। पछिल्लो ५ वर्षको वार्षिक वित्तीय विवरण विश्लेषण गर्दा उसको अवस्था निकै बलियो देखिन्छ। आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वित्तीय विवरण तुलना गर्दा त रिलायन्सले तीब्र आर्थिक पुनः उत्थान (भी–सेप्ड रिकभरी) हाँसिल गरेको छ।
कम्पनीको लेखा परीक्षण गरिएको वार्षिक वित्तीय विवरणले कुल आम्दानी र सञ्चालन नाफामा उल्लेख्य वृद्धि भएको देखाउँछ। आव २०८०/८१ मा रिलायन्सको कुल आम्दानी ९ अर्ब २० करोड ६० लाख रुपैयाँ रहेकोमा आव २०८१/८२ मा १० अर्ब २३ करोड ७८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी सञ्चालन नाफा ५७ करोड २८ लाखबाट बढेर १ अर्ब ३ करोड ७२ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको नगद सञ्चय पनि राम्रो देखिन्छ। आव २०८१/८२ मा कम्पनीको ५ अर्ब ८२ करोड ३९ लाख रुपैयाँ कुल जगेडा कोष रहेको छ। १८ महिनाअघि मूल्यांकन स्थिर गरिएदेखि कम्पनीले ४७ करोड ५८ लाख रुपैयाँ जगेडामा थपेको छ।
त्यसैगरी पुनर्मूल्यांकनसहित प्रतिसेयर नेटवर्थ पनि ४११ रुपैयाँ ११ पैसा रहेको छ। हालको आईपीओ मूल्यले प्रक्रिया रोकिएको समयमा थपिएको जगेडा कोष र नेटवर्थलाई पूर्ण रुपमा समेटेको छैन। आर्थिक वर्ष २०८१/८२ को नाफाको आधारमा आईपीओ मूल्य तय गर्दा मूल्य अझ बढ्ने भए पनि अदालतको आदेशअनुसार पुरानै प्रक्रियाले निरन्तरता पाउँदा लगानीकर्ता लाभान्वित हुने अवस्था बनेको हो।
८४४ प्रतिशत नाफा बढ्यो
रिलायन्स स्पिनिङ मिल्सको आईपीओले नेपाली सेयर बजारमा उत्साहपूर्ण तरंग ल्याउने अर्को कारण हो, यसको आईपीओ मूल्य। कम्पनीले तीब्र आर्थिक वृद्धि गर्दासमेत दुई वर्षअघिको नाफालाई आधार मानेर तय गरिएको मूल्यमै आईपीओ निष्कासन गरेको छ।
बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो। आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो। उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिसेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो।
गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पुर्याउँदै ८४४ प्रतिशतको छलाङ हानेको छ। प्रतिसेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ। यस हिसाबले आज सहभागी हुने लगानीकर्ताहरुले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै सेयर पाउनेछन्।
२०८० माघमा संस्थागत लगानीकर्तालाई अधिकतम ९१२ रुपैयाँमा सेयर बिक्री भइसकेको छ। सर्वसाधारणलाई १० प्रतिशत कम हुने गरी सेयरको मूल्य तय गरिएको हो। संस्थागत लगानीकर्ताले सेयर खरिद गरिसकेको अवस्थामा सोमबारदेखि निष्कासित आईपीओमा सर्वसाधारणको पनि उत्साहपूर्ण सहभागिता देखिएको हो।