काठमाडौं- रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारीमा गएकालागि खुलाइएको आईपीओ निष्कासन भएको करिब आधा घण्टामै ‘ओभरसब्सक्राइभ’ भएको छ।
सोमबार बिहान साढे १० बजेसम्ममै कम्पनीले छुट्याएको १ लाख १५ हजार ५९६ कित्ता भन्दा बढीमा आवेदन पर्न थालेपछि जारी शेयर तत्कालै ओभरसब्सक्राइभ स्थितिमा पुगेको हो।
कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये वैदेशिक रोजगारी समूहका लागि १० प्रतिशत हिस्सा छुट्याएर कम्पनीले १ लाख १५ हजार ५९६ कित्ता सेयर निष्कासन गरेको थियो।
निष्कासन खुलेको एक घण्टामै १ लाख १८ हजार ३४० कित्ताका लागि आवेदन दर्ता भएको कम्पनीले जनाएको छ।
विभिन्न ३६ बैंकका शाखामार्फत अहिलेसम्म १ हजार ९७० जना आवेदकले आवेदन दिएका छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले मंसिर २५ (बिहीबार) सम्म आईपीओका लागि आवेदन दिन सक्नेछन्।