आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतले १ सयभन्दा माथिका नोटमा प्रतिबन्ध हटाएपछि नेपाललाई के-के फाइदा?

शुक्रबार, मंसिर १९ २०८२
भारतले १ सयभन्दा माथिका नोटमा प्रतिबन्ध हटाएपछि नेपाललाई के-के फाइदा?

भारतले १ सयभन्दा माथिका भारु नोटमा नेपाल–भारत आवागमनका लागि लगाएको प्रतिबन्ध हटाएसँगै नेपालले प्रत्यक्ष रूपमा धेरै फाइदा पाउने अपेक्षा गरिएको छ।

काठमाडौं- भारतले १ सयभन्दा माथिका भारु नोटमा नेपाल–भारत आवागमनका लागि लगाएको प्रतिबन्ध हटाएसँगै नेपालले प्रत्यक्ष रूपमा धेरै फाइदा पाउने अपेक्षा गरिएको छ।

भारतीय रिजर्भ बैंक (आरबीआई) ले विदेशी विनिमय व्यवस्थापन नियम संशोधन गरी २०००, ५०० लगायत ठूला दरका नोट २५ हजार भारुसम्म नेपाल–भारत सीमामा व्यक्ति स्वयंले बोकेर ल्याउन–लैजान सकिने व्यवस्था गरेको हो।

यसले विशेषगरी सीमापार आवागमन गर्ने लाखौँ नेपाली तथा भारतीय यात्रु, पर्यटक, उपचारका लागि भारत जाने नागरिक र साना व्यापारीलाई ठूलो सहजता प्रदान गर्ने भएको छ। साना नोट मात्र लिएर यात्रा गर्नुपर्ने झन्झट हट्नेछ भने भारतबाट नेपाल आउने पर्यटकका लागि भुक्तानी र खर्च व्यवस्थापन सहज हुने जनाइएको छ।

ठूला दरका नोट निर्वाध बोक्न पाउने व्यवस्था भएपछि सीमावर्ती क्षेत्रमा हुने अनौपचारिक कारोबार, सटहीको झन्झट र अवैध विनिमयको जोखिम समेत घट्ने अनुमान छ। विशेषज्ञहरूका अनुसार यसले वैध बैंकिङ प्रणालीमार्फत कारोबार बढाउन मद्दत गर्नेछ।

सन् २०१६ मा भारतले ५०० र १,००० भारुका नोट अमौद्रिकीकरण गरेपछि नेपालले ठूला दरका नोट प्रतिबन्धित गरेको थियो। त्यसयता साना नोटमार्फत कारोबार गर्नुपर्ने बाध्यता र यात्रु–व्यवसायीले भोगेको असुविधाको अन्त्य हुने संकेत देखिएको छ।

आरबीआईको नयाँ नीतिले दुवै देशबाट नोट ल्याउन–लैजान पाउने व्यवस्थालाई समान रूपमा खुला गरेको छ, जसले नेपाली रुपैयाँ विस्थापित हुने जोखिम हटाउने नेपाल राष्ट्र बैंकका अधिकारीहरूको बुझाइ छ। यसले दुई देशबीच वित्तीय समन्वय झनै सहज हुने तथा लामो समयदेखि रोकिएको नोट सटही–सम्बन्धी विषय समाधानतर्फ जाने अपेक्षासमेत गरिएको छ।

यद्यपि आरबीआईले प्रतिबन्ध हटाएको मात्रले ठूला दरका भारु नोट नेपालमा तत्काल चलनचल्तीमा आउने छैन। नेपाल राष्ट्र बैंकले आवश्यक निर्देशन जारी गरेपछि मात्र नयाँ व्यवस्था पूर्ण रूपमा लागू हुनेछ।

विशेषगरी भारतमा काम, उपचार वा व्यापारका लागि नियमित पुग्ने नेपाली र नेपाल आउने भारतीय पर्यटकका लागि यो निर्णयले सुविधा पाउने छन्।


प्रकाशित : शुक्रबार, मंसिर १९ २०८२०७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend