शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गंगानारायण

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर १८ २०८२
धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गंगानारायण

कालानमक चामल बिक्रीमा भने समस्या छैन। बजारमा लैजाना साथ राम्रो मूल्यमा बिक्री हुने चौधरीले बताए। अन्य धानको दर करिब तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रति क्विन्टल दश हजारमा बिक्री हुने गरेको छ।

बाँके- बैजनाथ गाउँपालिका-८ टिटिहिरियाका किसान गंगानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन्। 

कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन्। यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गंगानारायणले जानकारी दिए।

'उत्पादन अझ धेरै हुने अनुमान गरिए पनि अन्य धान स्याहारी सकेकोले कालानमक धानमा चरा, मुसा र कीराको सङ्क्रमण बढेर समस्या भयो', उनले भने,' करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ ।' यसको उत्पादनमै बढी खर्च लाग्ने भएकाले मूल्य महँगो पर्ने गरेको छ। 

यो धान असारमा रोपेपछि मङ्सिरको पहिलो साता मात्रै काट्न तयार हुन्छ । सिँचाइ पनि पर्याप्त चाहिन्छ । करिब छ महिनामा तयार हुने भएकाले यसमा रोग सङ्क्रमणको जोखिम हुन्छ। अन्य धान असोज-कात्तिकमा भित्र्याउँदा त्यहाँका पतेरा किरा कालानमकमा जाने र धान पोकट बनाउने समस्या हुने गरेको कृषक चौधरीले बताए।

कालानमक चामल बिक्रीमा भने समस्या छैन। बजारमा लैजाना साथ राम्रो मूल्यमा बिक्री हुने चौधरीले बताए। अन्य धानको दर करिब तीन हजार ५०० क्विन्टल हुँदा कालानमक भने प्रति क्विन्टल दश हजारमा बिक्री हुने गरेको छ। 

बाँकेमा किसानले रैथाने धानको तुलनामा धेरै फल्ने र छिट्टै पाक्ने रामधान, राधा ४, एमपी ६०, गोरखनाथ लगायतको  हाइब्रिड धान रोप्दै आएका छन्। किसान व्यावसायिक खेतीतर्फ उन्मुख हुँदै गएपछि परम्परागत रैथाने कालानमक धानको जात हराउँदै गएको छ। 

लगानीअनुसारको प्रतिफल नपाएको भन्दै कृषकहरूले लगाउन छाड्दै गएपछि यो धान लोप हुने अवस्थामा पुगेको हो। सिँचाइ र स्याहार सुसार बढी गर्नुपर्ने र रोग तथा कीराको प्रकोप बढी देखिने भएकाले कृषकहरु यसको साटो हाइब्रिड धानतर्फ आकर्षित भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी वरिष्ठ वागवानी विकास अधिकृत सन्तोष पाठकले जानकारी दिए।

उहाँका अनुसार ‘भिआइपी’देखि पर्यटकहरूको रोजाइ भए पनि लागतअनुसार कम उत्पादन हुने भएकाले कृषकहरू कालानमक धानको साटो अन्य धान लगाउन थालेका हुन्। मसिनो र बास्नादारको सुचीमा पर्ने यो धान कालो भएकाले यसलाई कालानमक भनिएको हो। यो करिब १४० दिनमा तयार हुन्छ।

'विगतमा बाँके र बर्दियामा यसको खेती हुन्थ्यो, तर अनेक प्रजाति निस्किएपछि किसान छोटो समयमा धेरै उत्पादन गरेर लाभ लिनतिर लागे', सूचना अधिकारी पाठकले भने, 'कालानमकको खेती शून्य प्रायः भएपछि अहिले यसको प्रवर्द्धन र प्रचारमा लागेका छौँ।'

बाँकेमा परम्परागत रैथाने धानको जात कालानमक संरक्षणको लागि कृषि ज्ञान केन्द्रले कृषकस्तरमा लगाएर प्रचार प्रसारको थालनी गरेको छ। कृषि अनुसन्धान परिषद् खजुराबाट प्राप्त गरेको बीउलाई बाँकेको बैजनाथ-८ टिटिहिरियामा प्रयोग गरिएको उनको भनाइ छ। रासस


प्रकाशित : बिहीबार , मंसिर १८ २०८२१३:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend