काठमाडौं- विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीहरुका लागि आर्थिक वर्ष २०८१ /८२ को मुनाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन्।
हालसम्म नेप्सेमा सूचीकृत भएका १९ वटा वाणिज्य बैंकहरुमध्ये ११ वटा बैंकले लाभांश घोषणा गरेका छन्।
अहिलेसम्म लाभांश घोषणा गरेका बैंकहरुमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकले आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गरेको छ। जसमध्ये ६ प्रतिशत बोनस र १४ प्रतिशत नगद रहेको छ।
यस्तै सिद्धार्थ बैंक १०.५३ प्रतिशत र लक्ष्मी सनराइज बैंकले १०.५३ प्रतिशत लांभांश दिने घोषणा गरेका छन्।
सिद्धार्थ बैंकले ५ प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद दिने घोषणा गरेको छ भने लक्ष्मी सनराइज बैंकले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद दिने घोषणा गरेको हो।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले आफ्ना सेयरधनीहरुका लागि १९ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। कृषि विकास बैंकले ३.२५ प्रतिशत बोनस र ९.७५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
त्यस्तै सानिमा बैंकले ७.३७ प्रतिशत नगल लाभांश दिने घोषणा गरेको छ भने सिटिजन्स बैंकले ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश गरेर कुल ५.२६ प्रतिशत लाभांश दिएको छ।
एनएमबी बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी १० प्रतिशत, नेपाल एसबीआई बैंकले ४ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी ९ प्रतिशत, ग्लोबल आईएमई बैंकले ८ प्रतिशत नगद, माछापुच्छ्रे बैंकले ४ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी ८ प्रतिशत लाभांश घोषणा गरेका छन्।
अहिलेसम्म पनि लाभांश घोषणा नगर्ने ७ वटा बैंकहरुमा नबिल, प्रभु, हिमालयन, नेपाल बैंक, एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र प्राइम कमर्सियल बैंक रहेका छन्। कुमारी बैंकले यो पटक आफ्ना सेयर धनिको हात खाली बनाएको छ। यो बैंकले लाभांश घोषणा नगर्ने भएको छ।