काठमाडौं- नेपाली रुपैयाँ अमेरिकी डलरसँग लगातार कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विनिमय दर अनुसार डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा पुगेको छ। बुधबारको तुलनामा आज पुनि नयाँ रेकर्ड बनेको हो। एक दिनअगाडि खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा थियो।
डलरसँगै युरोपियन युरो, बेलायती पाउन्ड, स्वीस फ्र्याङ्कदेखि अष्ट्रेलियन तथा क्यानेडियन डलरसम्म सबै प्रमुख विदेशी मुद्रामा नेपाली रुपैयाँ कमजोर देखिएको छ। युरोको खरिददर १६७ रुपैयाँ ९५ पैसा, पाउन्डको १९१ रुपैयाँ ४३ पैसा, स्वीस फ्र्याङ्कको १७९ रुपैयाँ ९६ पैसा तोकिएको छ।
यही प्रवृत्ति एसियाली मुद्रामा पनि देखिएको छ। जापानी येन, चिनियाँ युआन, सिङ्गापुर डलर, साउदी रियाल, कतारी रियाल, यूएई दिरामलगायत सबैको विनिमयदर उकालो लागेको छ। भारतीय रुपैयाँ १ सयको बिक्रीदर पनि १६० रुपैयाँ १५ पैसामा पुगेको छ।
नेपाली रुपैयाँ कमजोर हुनुको मूल कारण भारतीय रुपैयाँको लगातार अवमूल्यन मानिएको छ। भारत र नेपालबीच स्थिर विनिमयदर प्रणाली भएकाले भारु कमजोर हुदैँ जाँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको हो। पछिल्ला आठ महिनादेखि भारतीय मुद्रा निरन्तर ओरालो लागेको छ। आज भारतीय बजारमा एक अमेरिकी डलरको मूल्य ९० रुपैयाँ १० पैसा नाघेको छ, जुन सयौँको अवमूल्यन यात्राको नयाँ बिन्दु मानिन्छ।
भारु अवमूल्यनको पृष्ठभूमि चार दशकभन्दा लामो छ। १९८० को दशकमा न्यून लगानी, बन्द आर्थिक संरचना र उच्च मुद्रास्फीतिले भारु १० बाट २० मा उक्लिएको थियो।
त्यसपछिका दशकहरूमा १९९१ को भुक्तानी सन्तुलन संकट, १९९७ को एसियाली आर्थिक संकट र २००० को डटकम बबलले अवमूल्यनलाई थप गहिर्यायो। २००८ को विश्व आर्थिक संकटपछि भारु ५० नजिक पुगेको इतिहास छ। २०१३ मा ६० रहेको मूल्य अहिले ९० नाघेको छ।
हालको तीव्र अवमूल्यनलाई विश्लेषकहरूले विशेष रूपमा अमेरिकाले भारतीय सामानमा लगाएको ५० प्रतिशत भन्सार महसुलसँग जोडेर हेरेका छन्। भन्सार बढेपछि भारतीय निर्यातमा दबाब पर्यो, व्यापार घाटा बढ्यो र विदेशी मुद्रा आम्दानी कमजोर बन्यो।
यसैबीच भारतीय रिजर्भ बैंकले विनिमय बजारमा ठूला हस्तक्षेप नगरेको र विदेशी पुँजी बाहिरिने क्रम बढेको अवस्थाले भारुमा थप कमजोरपन ल्याएको छ। चालू वर्षमा मात्रै लगभग १७ अर्ब डलर बराबरको विदेशी लगानी भारतबाट बाहिरिएको छ, प्रत्यक्ष विदेशी लगानी दुई महिनादेखि नकारात्मक छ।
भारुमा देखिएको अस्थिरताले नेपालमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। आयात-निर्भर अर्थतन्त्र भएकाले अवमूल्यनले महँगी र व्यापारघाटामा थप दबाब बढाउने जोखिम देखिएको छ।