काठमाडौं- सेयर बजार लगातार चार दिनसम्म ओरालोतिर लागेको छ। गएको साता समग्रमा ११२.५ अंकले बढेको सेयर बजार यो साता भने ओरालो लागेको हो। गएको साता बजारले वृद्धितर्फको लय देखाइरहँदा यो साता लगानीकर्ता विश्वस्त देखिन सकेनन्।
यो साता पहिलो कारोबारमा आइतबार २६.५१ अंक र सोमबार ४.२८ अंक र मंगलबार ०.५३ अंकले घटेको बजार बुधबार पनि ओरालोतिर नै लागेको छ।
आज बुधबार नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ बिन्दुमा झरेको हो। आजको कारोबारमा ३ सय ३२ कम्पनीको एक करोड ८ लाख ७३ हजार ३ सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.६६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५५ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६८ अंकले घटेको छ।
५ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी माबिलुङ् इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयरमूल्य ७ प्रतिशत बढेको छ भने बुङ्गल हाइड्रोको सेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ। ग्रीन भेन्चर्सको सेयरमूल्य यस दिन सर्वाधिक ९.८५ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ।
त्यस्तै यसदिन होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ। कारोबारमा आएको जीवन बीमा उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.१८ प्रतिशत घटेको छ।