आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

किन कमजोर बनिरहेको छ भारतीय मुद्रा, दबाबमा नेपाली रुपैयाँ पनि

बुधबार, मंसिर १७ २०८२
किन कमजोर बनिरहेको छ भारतीय मुद्रा, दबाबमा नेपाली रुपैयाँ पनि

बढ्दो भन्सार महसुलको प्रभाव न्यूनीकरणका लागि भारतीय केन्द्रीय बैंकले पनि कमजोर भारुलाई सन्तुलित बनाउनका लागि खासै पहल गरेको छैन।

काठमाडौं- नेपाली रुपैयाँले दिनदिनै कमजोरको कीर्तिमान कायम गर्दै आएको छ। बुधबार त नेपाली रुपैयाँ अमेरिकी डलरसँग हालसम्मकै कमजोर बन्यो। नेपाली रुपैयाँ कमजोर हुनुका पछाडि भारतीय रुपैयाँको कमजोर प्रदर्शन कारण हो। पछिल्लो आठ महिनादेखि भारुको ओरालो यात्रा कायम छ। 

भारु कमजोर हुँदा स्थिर विनिमय दरका कारणले नेपाली रुपैयाँ पनि कमजोर बनेको हो। अमेरिकी डलर एकबराबर ९०.१० भारुमा मूल्य झरेको छ। एक डलर बराबरको १० भारुदेखि ९० भारुसम्म पुग्न ४० वर्षको समयअवधि लागेको छ। 

यसअघि प्रत्येक घरेलु तथा अन्तर्राष्ट्रिय अवस्थाका कारणले भारुको कमजोर यात्राले फड्को मार्दै आएको थियो। सन् १९८० को दशकमा भएको न्यून विदेशी लगानी, बन्द अर्थव्यवस्था तथा उच्च मुद्रास्फ्रितिका कारणले एक दशकमै १० बाट २० भारु पुगेको थियो। त्यसपछि सन् १९९० को दशकमा दुईवटा आर्थिक धक्का खेप्यो भारतीय अर्थतन्त्रले।

१९९१ मा घरेलु भुक्तानी सन्तुलनको संकट र १९९७ मा एसियन आर्थिक संकट साथै सन् २००० को सुरुवातमै आएको डटकम बबल, यी लगातारका आर्थिक संकटले सन् २००८ को संकटसम्म पुग्दा एक डलर बराबर ५० भारू पुगेको थियो। सन् २०१३ मा ६० भारु रहेकोमा बितेको एक दशकमै लगभग ५० प्रतिशतले अवमूल्यन भएर सन् २०२५ मा एक डलरबराबर ९० भारु पुगेको छ। 

पछिल्लो आठ महिनादेखि ओरालो यात्रामा भएको भारु यही वर्ष ५ प्रतिशतले अवमूल्यन भएको छ। एसियामै कमजोर प्रदर्शन गरिरहेको मुद्रामा रहेको भारु यति धेरै कमजोर किन भयो? स्वाभाविक आर्थिक अवस्था तथा पछिल्लो समय सिर्जना भएका केही कारणले पनि भारु कमजोर बनेको छ। 

सबैभन्दा ठूलो धक्का भारतीय सामानहरूमा अमेरिकाले लगाएको ५० प्रतिशत भन्सार महसुल हो। यो कारणले गर्दा निर्यात प्रभावित भयो भने अर्कोतिर व्यापार घाटा उच्च भयो। पछिल्लो दुई महिनामा कीर्तिमानी व्यापारघाटा कायम भएको छ।

यस्तै बढ्दो भन्सार महसुलको प्रभाव न्यूनीकरणका लागि भारतीय केन्द्रीय बैंकले पनि कमजोर भारुलाई सन्तुलित बनाउनका लागि खासै पहल गरेको छैन। 

यो बीचमा भारतमा विदेशी पुँजीको प्रवाह घट्न पुग्यो। यो वर्ष १७ अर्ब डलरको लगानी भारतबाट बाहिरिएको छ। त्यस्तै पछिल्लो दुई महिनामा प्रत्यक्ष विदेशी लगानी नकारात्मक भएको छ। विदेशी निजी लगानी उदीयमान अर्थतन्त्रमा बढ्दा पनि भारतले भने यसमा धक्का महसुस गरेको छ। 


प्रकाशित : बुधबार, मंसिर १७ २०८२१६:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend