महोत्तरी- मनराशिस्वा नगरपालिका-३ सोनौल गाउँका लालबाबु भण्डारीले सयपत्री फूलखेतीबाट वार्षिक सात लाख रुपैयाँ बचत गरिरहेका छन्। करिब २० कट्ठा क्षत्रमा लगाइएको सयपत्री फूलखेतीबाट राम्रो आम्दानी गर्दै आएका हुन्।
अहिले लालबाबुको दैनिकी बिहान ५ बजेदेखि बेलुकाका ५ बजेसम्म फूलखेतीमा बित्ने गरेको छ। गाउँको दुई स्थानमा १०/१० कट्ठामा क्षेत्रफलमा सयपत्री फूलखेती गरेका लालबाबुले दिनभरि फूलको बिरुवा हेरचाह, सिँचाइ, मलखाद्य र फूल टिप्ने कार्यमा बिताउँछन्।
फूलखेतीमा उनलाई छोराद्वय विकास र आकाशले पनि सघाउने गरेका छन्। भारतको मुज्जफरपुरबाट सयपत्री फूलको बिरुवा प्रतिवटा भारु दुईमा ल्याएर रोपाइँ गर्ने गरेको लालबाबुले बताए। उनका अनुसार एउटा बिरुवा हुर्कन २० देखि ४० दिन लाग्दछ।
'एउटा बिरुवा सप्रिएपछि तीन-चार महिनासम्म फूल दिने गर्दछ। दश कट्ठामा लगाइएको एक हजार २०० बिरुवाले एकैपटक फूल दिँदा एक दिनमा ५० किलोसम्म हुन्छ', उनले भने।
उनले दुई स्थानमा फरकफरक समयमा फल्ने सयपत्री लगाएका छन्। एक स्थानमा उत्पादित फूल सकिन लाग्दा अर्को स्थानमा फूल्न थाल्ने भएकाले वर्षभरि बिक्री गर्न सक्ने लालबाबुले बताए। सयपत्री फूलको माग वर्षभरि हुने भएकाले सधैँ आपूर्ति गर्न सफल भएको उनको भनाइ छ।
'एउटा सयपत्री फूल उनेको मालाको ५० देखि ७० पर्छ। घरमा आएका व्यापारीलाई ४० रुपैयाँमा बिक्री गर्छौँ। यसबाट दैनिक पाँच हजारसम्म आम्दानी हुने गरेको छ', लालबाबुका छोरा विकासले भने। थोकमा प्रतिकिलो चारदेखि ५०० रुपैयाँसम्ममा बिक्री गर्दा दैनिक दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म आम्दानी हुने उनले जानकारी दिए।
लालबाबुले घरमा ‘जयमा फूल भण्डार’ नाममा पसल सञ्चालन गरेका छन्। वर्षभरिको घरखर्च, छोराहरूको पढाइ र अन्य खर्च कटाएर सात लाख रुपैयाँसम्म बचत हुने गरेको उनले जानकारी दिए। रासस