आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

४.२८ अंकले घट्याे नेप्से, ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार

सोमबार, मंसिर १५ २०८२
४.२८ अंकले घट्याे नेप्से, ४ अर्ब ७१ करोड रुपैयाँको कारोबार

काठमाडौं- यो साताको पहिलो कारोबारमा आइतबार २६.५१ अंकले घटेको सेयर बजार दोस्रो कारोबारमा आज सोमबार पनि सामान्य घटेर बन्द भएको छ। आज सेयर बजार परिसूचक नेप्से ४.२८ अंकले घटेको हो। 

आजको कारोबारमा ३ सय २५ कम्पनीको १ करोड ८ लाख ६० हजार ८ सय २८ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरे पनि बजारमा त्यसले खास प्रभाव परेन। 

आज सेन्सेटिभ इण्डेक्स ०.३७ अंकले घटेको  छ भने फ्लोट इण्डेक्स ०.२८ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४९ अंकले घटेको छ।

आजको कारोबारमा यस दिन ४ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। 

त्यस्तै ग्रीन भेन्चर्सका सेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशत बढेको छ। निफ्रा ग्रीन इनर्जी डिबेञ्चरको मूल्य सर्वाधिक ९.५१ प्रतिशतले घटेको छ।

१३ उपसमूहमध्ये यसदिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यसदिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंकमा बढेको हो।

आउँदो चुनावसम्म बजारले थप गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन्।


प्रकाशित : सोमबार, मंसिर १५ २०८२१५:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend