शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गोरखाका किसानहरू यान्त्रीकरणतर्फ आकर्षित; हिमाली भेगमा गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १५ २०८२
गोरखाका किसानहरू यान्त्रीकरणतर्फ आकर्षित; हिमाली भेगमा गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग

हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका-७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्।

गोरखा- केही वर्षदेखि यहाँका किसानहरू यान्त्रिकरणतर्फ आकर्षित भएका छन्। गाउँ-बस्तीका किसानहरूले खेती गर्न ट्रयाक्टर तथा थ्रेसर प्रयोग गर्न थालेका छन्।

उत्तरी गोरखाको हिमाली भेगमा पनि गहुँ, जौ, करु, फापर काट्न मेसिनकै प्रयोग गर्ने प्रचलन बढिरहेको किसानहरू बताउँछन्। तल्लो भेगको टार तथा फाँटहरूमा थ्रेसरको प्रयोग बढ्न थालेपछि दयँरे र गोरुको प्रयोग गरेर परम्परागत दाइँ गर्ने चलन प्रायः हटिसकेको स्थानीयवासीको भनाइ छ।

परम्परागत दाइँ गर्न युवा जनशक्तिको अभाव रहेकाले थ्रेसर लोकप्रियता बढिरहेको पालुङ्टार ९ का महेन्द्र श्रेष्ठ बताउँछन्। उनका अनुसार युवा जनशक्ति विदेशिएपछि मेसिनले गर्ने दाइँमा दयँरे महिला हुने गरेका छन्।

'एक महिनायता हाम्रो फाँटमा मात्र सात वटा मेसिनलाई भ्याइनभ्याइ छ । एकै दिनमा एउटा मेसिनले चार, पाँच जनाको दाइँ गर्दा अझै माग धान्न गाह्रो छ', उनले भने, 'पुरुषहरू त गाउँमा कमै छन्। त्यसैले घान हाल्ने र खन्याउने ठाउँमाचाहिँ पुरुष हुन्छन्। अरु काममा प्रायः महिलै हुन्छन्।'

हिमालपारिको चुम उपत्यकामा तिब्बतबाट उपकरण ल्याएर फापर, गहुँ, जौ काट्ने गरेको चुमनुब्री गाउँपालिका-७ छेकम्पारका पूर्ववडाध्यक्ष पासाङ फुञ्जो लामा बताउँछन्। विगत पाँच वर्षदेखि मेसिनको प्रयोग गरेर बारी जोत्ने, बाली काट्ने, कुट्ने गर्न थालेको उनको भनाइ छ।

कृषि ज्ञान केन्द्रको तथ्यांकले कृषिमा यान्त्रिकरण वृद्धि भइरहेको देखाउँछ। हाल गोरखामा ७० प्रतिशत दाइँ सकिएको छ। जसमध्ये प्रायःतल्लो भेगको समथर फाँटहरूमा थ्रेसरको प्रयोग भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सुमन भट्टराई बताउँछन्। 

कृषिमा यान्त्रिकरणबाट करिब १५ प्रतिशत लागत (खर्च) कम हुने सूचना अधिकारी भट्टराईको भनाइ छ। उनका अनुसार कम खर्च र सजिलोका लागि कृषिमा यान्त्रिकरणको परम्परा बढेको हो। रासस


प्रकाशित : सोमबार, मंसिर १५ २०८२१५:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend