काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। अर्थतन्त्र देखिरहेको पछिल्लो संकुचन समाधान गर्ने दिशामा मौद्रिक नीतिको समिक्षा आउने अपेक्षा गरिएपनि राष्ट्र बैंक आफ्नो नीतिहरुमा भने समान्य परिमार्जन गरेको छ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारीले ब्याजदरमा गरेको हस्तक्षेप राष्ट्र बैंकले खारेजी गरेको छ।
ब्याजदर जथाभावी बढाएको भन्दै तत्कालिन गभर्नर अधिकारीले साधारण मुद्दती बचत र संस्थागत मुद्दती बचतमा क्याप लगाएका थिए। साधारण मुद्दती निक्षेपको ब्याजदरभन्दा संस्थागत मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशत बिन्दु कम हुनुपर्ने व्यवस्था तत्कालिन गभर्नर अधिकारीले गरेका थिए। ब्याजदर परिवर्तन गर्दा १ पटकमा बैंकिङ उद्योगको औषत १० प्रतिशतभन्दा बढी परिवर्तन गर्न नपाउने व्यवस्थालाई भने यथावत राखेको छ।
यस्तै राष्ट्र बैंकले ब्याजदर कोरिडरको अन्तर्गतको बैंक दर र नीतिगत दर समेत घटाएको छ भने निक्षेप संकलन दरलाई यथावत राखेको छ। बैंक दर ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत र नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशतमा कायम गरेको छ। नीतिगत दर घटेसँगै बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर थप घटाउन सहज भएको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता रहेको र कर्जा लगानी नभएको अवस्थामा निक्षेप तथा कर्जाको ब्याजदर थप घट्नेगरी राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ।