काठमाडौं- विश्व व्यववस्थामा एकपछि अर्को अनिश्चय, द्वन्द बढिरहेका छन्। कोभिड महामारीपछि विश्व व्यवस्था पहिले जति उदार थियो अहिले त्यति छैन। सबै शक्ति राष्ट्र आफ्नो दौडमामात्र होइन अर्कालाई बार लगाएर आफू जित्ने दौडमा छन्।
शक्ति राष्ट्रको दौडधुपको मुख्य क्षेत्र हो एआई। कुसले किफायती र कुशल एआई मोडल सबैभन्दा पहिला विकास गर्ने भन्ने होडबाजी बढेको छ। यो दौडमा मुख्यगरी अमेरिका र चीनमात्र देखिएपनि पृष्ठभूमिमा लगभग सबै विकसति मुलुक छन्।
एआई, क्रिप्टोकरेन्सी, डिजिटल एसेटमा विश्वासनीय मोडलको विकास गरेर संसारमा आफ्नो प्रभुत्व विस्तार गर्नका लागि देशहरू हानिकारक प्रतिबन्धको तहमा उत्रिएका छन्।
एकातिर यति धेरै प्रतिस्पर्धा र होडबाजी हुँदा यो व्यवस्थाको मुख्य हिस्सेदार केन्द्रीय बैंकहरू पनि एआईको अभ्यासमा निकै पछाडि छन्। अहिलेको दुनियाँमा कुनै एउटा संस्थापन छ जसले एकसाथ एआईलाई शंका र संसयका कोणबाट हेरेको छ भने त्यो हो केन्द्रीय बैंक।
कुनै पनि मुलुकको मौद्रिक तथा वित्तीय व्यवस्था कायम राख्ने मुख्य जिम्मेवारी पाउने केन्द्रीय बैंकहरू स्वभावैले परम्पारवादी हुन्छन्। तर एआईको सवालमा उनीहरू निकै रुढीवादी देखिएका छन्।
बजारको हाइप, देशहरूको होडबाजी यत्रो हुँदा पनि उनीहरू लगभग किनारामै रहेका छन्। केन्द्रीय बैंकहरूको विश्वव्यापी थिंकट्यांक अफिसियल मनिटरी एण्ड फाइनान्सियर इन्स्टिच्युसन फोरमको पछिल्लो सर्वेक्षणले एआईलाई केन्द्रीय बैंकहरूले केबल एउटा ‘फ्यान्सी क्यालुकुलेटर’ जति पनि लिएका छैनन्।
सो प्रतिवेदन अनुसार ६० प्रतिशतभन्दा बढी केन्द्रीय बैंकले एआईबाट आफूलाई टाढा राखेका छन्। सामान्य रुपमा अपनाउन खोज्नेहरूले पनि यसलाई कोर काममा प्रयोग गरेका छैनन्। जोखिम व्यवस्थापन, सञ्चिति, नीति निर्माणबाट एआईलाई टाढा राखेका छन्।
त्यस्तै डिजिटल एसेटको सवालमा भने केन्द्रीय बैंकहरू झन् रुढीवादी देखिएका छन्। संसारका ९३ प्रतिशत केन्द्रीय बैंकको बहिखतामा डिजिटल एसेट शून्य रहेको छ। अर्थात् उनीहरू अहिले पनि अमेरिकी बण्ड, सुनमै सीमित रहेका छन्। क्रिप्टो लगायतका टोकन एसेटलाई उनीहरूले एउटा फ्यान्सी ट्रेन्डको नाम दिएका छन्।