काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासको वित्तीय विवरणले फाइनान्स कम्पनीहरूको अवस्था चुनौतीपूर्ण बन्दै गएको देखाएको छ। सार्वजनिक भएका १५ फाइनान्स कम्पनीमध्ये आठ कम्पनी खुद नोक्सानीमा पुगेका छन् भने नाफामा भएका सात कम्पनीको पनि नाफा उच्च दरले घटेको छ।
वित्तीय क्षेत्रको समग्र चाप, आर्थिक क्रियाकलापको सुस्तता र कर्जा असुलीमा आएको दबाबसँगै इम्पेरमेन्ट चार्ज बढ्नु फाइनान्सहरूको अहिलेसम्मकै प्रमुख चुनौतीका रूपमा देखिएको छ। आर्थिक गतिविधि सामान्यभन्दा कम रहेकाले नगद प्रवाहमा कमजोरी आएको र जोखिमयुक्त कर्जाको भार बढेपछि धेरै कम्पनीहरूको नाफा संकुचित भएको विश्लेषणमा उल्लेख छ।
समृद्धि फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, नेपाल फाइनान्स, पोखरा फाइनान्स र रिलायन्स फाइनान्स घाटामा परेका छन्। तीमध्ये प्रोग्रेसिभ र गोर्खाज फाइनान्स गतवर्ष नाफामा रहे पनि यस वर्ष कर्जा जोखिम बढेपछि तयार भएको इम्पेरमेन्ट चार्जका कारण नोक्सानीतर्फ धकेलिएका हुन्। सबैभन्दा बढी घाटा रिलायन्स फाइनान्सलाई परेको छ, जसको नोक्सानी गतवर्षको तुलनामा झन्डै दुईगुणा बढेको छ।
यता नाफामा रहेका मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिपर्पस फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स र जानकी फाइनान्समध्ये जानकी फाइनान्स मात्र यस वर्ष नोक्सानीबाट नाफातर्फ उक्लन सफल भएको छ। बाँकी सबै कम्पनीको नाफा खुम्चिँदै गएको देखिन्छ। पहिलो त्रैमासमै सबैभन्दा बढी नाफा आर्जन गर्ने मञ्जुश्री फाइनान्सको नाफा पनि गतवर्षको तुलनामा करिब ५१ प्रतिशतले घटेको छ।
विश्लेषकहरूका अनुसार चाडपर्वको समयमा बजारमा तरलता कमजोर रहनु, राजनीतिक गतिविधि र आन्दोलनका कारण आर्थिक कारोबारमा आएको सुस्तता, कर्जाको नयाँ माग घट्नु र असुलीमा चाप बढ्नुले फाइनान्स कम्पनीहरू थप जोखिममा धकेलेजस्तो देखिएको छ। पहिलो त्रैमास प्रायः वित्तीय कारोबारका हिसाबले कमजोर मानिने भए पनि यस वर्ष कमजोरीको मात्रा झनै तीव्र देखिएको छ।
यद्यपि, आगामी त्रैमासहरूमा आर्थिक गतिविधि सामान्य अवस्थामा फर्कँदै गएमा कर्जा प्रवाह, असुली र नगद प्रवाहमा सुधार आउने र फाइनान्स क्षेत्रको नाफामाथि परेको दबाब क्रमशः घट्ने अपेक्षा गरिँदैछ।
पहिलो त्रैमासको खुद नाफा/नोक्सानी
(रकम हजारमा)
|
कम्पनी |
चालू वर्ष |
गतवर्ष |
फरक % |
|
मञ्जुश्री फाइनान्स |
४६,३९४ |
९४,२२४ |
-५०.७६ |
|
गुडविल फाइनान्स |
३७,३८४ |
४९,५१३ |
-२४.५० |
|
आइसिएफसी फाइनान्स |
२२,४५५ |
६८,८०० |
-६७.३६ |
|
सेन्ट्रल फाइनान्स |
१८,४४४ |
४९,५१२ |
-६२.७५ |
|
मल्टिपर्पस फाइनान्स |
१३,५६७ |
१४,७७४ |
-८.१७ |
|
श्री इन्भेष्टमेन्ट फाइनान्स |
३,४४३ |
४,१५१ |
-१७.०६ |
|
जानकी फाइनान्स |
१,८४५ |
-२३,०९९ |
— |
|
समृद्धि फाइनान्स |
-२१,७२० |
-१८,२०४ |
१९.३१ |
|
गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स |
-३०,७६६ |
-११३,३६८ |
-७२.८६ |
|
प्रोग्रेसिभ फाइनान्स |
-३९,०८० |
८०,९४० |
-१४८.२८ |
|
गोर्खाज फाइनान्स |
-४२,४१५ |
२४,२८० |
— |
|
बेष्ट फाइनान्स |
-५४,७१७ |
-८,६४१ |
५३३.२३ |
|
नेपाल फाइनान्स |
-५९,५६० |
-२४,००१ |
१४८.१६ |
|
पोखरा फाइनान्स |
-६०,७१६ |
-५१,४७१ |
१७.९६ |
|
रिलायन्स फाइनान्स |
-१६४,८२७ |
-५७,५५५ |
१८६.३८ |