शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

यामाहाले बजार हिस्सा दोबर बनाउने

सोमबार, फागुन २३ २०७८
यामाहाले बजार हिस्सा दोबर बनाउने

काठमाडौं- जापानी सवारी उत्पादक कम्पनी यामाहाले भारतीय बजारमा आफ्नो हिस्सा दोबर बनाउने लक्ष्य सार्वजनिक गरेको छ। भारतीय दुई पांग्रे सवारी बजारमा अबको ३ वर्षमा यामाहाले हालको बजार हिस्सालाई दोबर बनाउने बताएको हो। 

यसका लागि यामाहाले प्रिमियम मोटरसाइकल र स्कुटर उत्पादनलाई प्राथमिकता दिने भएको छ। यद्यपी भारतीय दुईपांग्रे सवारी बजार विगत २/३ वर्षयता निक्कै दबाबमा रहेको छ। कोरोना महामारी र उत्पादन लागत बढ्दा सबै सवारी उत्पादक घट्दो बिक्रीका कारण दबाबमा छन्। 

कोरोनाको तेस्रो वेभ र सेमिकन्डक्टर अभावका कारण सवारी बजार पुरानै लयमा फर्कन समय लागेको यामाहा मोटर इन्डिया ग्रुपका अध्यक्ष इशान चिहानाले बताएको द इकोनोमिक टाइम्सले लेखेको छ। यसका बाबजुत यामाहाले २०२५ सम्म पुग्दा आफ्नो भारतीय बजारको हिस्सा अहिलेको तुलनामा दोबर बनाउने योजना बनाएको उनको भनाइ छ। 

बजार विस्तारका लागि यामाहाले आफ्नो उत्पादनलाई प्रिमियम सेगमेन्टतर्फ उन्मुख गराउने छ। त्यसका लागि १५० सीसीदेखि २५० सीसी सम्मका मोटरसाइकल र १२५ सीसीदेखि १५० सीसीसम्मका स्कुटरको उत्पादनलाई प्राथमिकता दिने कम्पनीले उल्लेख गरेको छ। 

२०२१ मा यामाहाले भारतीय बजारमा ५ लाख २२ हजार वटा मोटरसाइकल तथा स्कुटर बिक्री गर्दा हिस्सा ३.६ प्रतिशत रहेको छ। यामाहाका मोटरसाइकल नेपाली बजारमा समेत लोकप्रिय रहेका छन्। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८११:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend