काठमाडौं- राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थालाई अनिवार्य दर्ता प्रक्रियामा ल्याउने अभियान सुरु गरेको छ।
प्राधिकरणले बुधबार अनलाइनमार्फत दर्ता प्रणाली सार्वजनिक गर्दै ६० दिनको समय औपचारिक रूपमा खुला भएको घोषणा गरेको हो।
हालै संशोधित ‘बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड-०८२’ अनुसार अब सहकारी संस्थाले प्राधिकरणमा अनिवार्य रूपमा अनलाइन दर्ता गर्नुपर्नेछ। मापदण्डमा विद्युतीय प्रणाली सार्वजनिक भएपछि मात्रै दर्ता अवधी गणना सुरु हुने प्रावधान राखिएको छ, जसका आधारमा प्राधिकरणले दर्ता समयसीमा आजदेखि लागु भएको जनाएको छ।
दर्ता गर्दा सहकारीले आफ्नो कुल सम्पत्ति वा पुँजी संरचनाका आधारमा शुल्क तिर्नुपर्नेछ। तोकिएको नियमअनुसार साना सहकारीलाई एक हजार रुपैयाँदेखि ठूलो आकारको सहकारीलाई १५ हजार रुपैयाँसम्म इजाजतपत्र दस्तुर लाग्ने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ।
दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु भएपछि सहकारी क्षेत्रको अभिलेख संकलन, नियमन, अनुगमन र वित्तीय अनुशासन प्रभावकारी हुने प्राधिकरणको दाबी छ।
इजाजतपत्र दस्तुर कुनको कति?
२ करोडसम्म कुल सम्पत्ति भएका सहकारी : १,००० रुपैयाँ
२ करोडभन्दा बढी १० करोडसम्म : ३,००० रुपैयाँ
१० करोडभन्दा बढी २५ करोडसम्म : ५,००० रुपैयाँ
२५ करोडभन्दा बढी ५० करोडसम्म : ७,००० रुपैयाँ
५० करोडदेखि १ अर्बसम्म : १०,००० रुपैयाँ
१ अर्बभन्दा बढी कुल सम्पत्ति भएका सहकारी : १५,००० रुपैयाँ इजाजतपत्र दस्तुर