काठमाडौं- गएको साता समग्रमा १४.४२ अंकले बढेको सेयर बजार यो साता पनि लगातार उचाइतर्फ लागेको छ। आइतबार ३९.९२ र सोमबार ४७.२२ अंकले बढेको बजार मंगलबार पनि सामान्य बढेको छ।
मंगलबार ५.३२ अंकले बढेर बजार २६५५.९९ बिन्दुमा पुगेको छ। १२२ कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँको कारोबार भएको छ। १२५ कम्पनीको सेयर मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा परिवर्तन भएको छैन।
आउँदो चुनावसम्म बजारले थप गति समात्ने विश्लेषकहरूले बताइरहेका छन्। सरकारले निजी क्षेत्रमैत्री विभिन्न नीतिका साथै पुँजी बजारलाई समेत विशेष ध्यान दिइरहँदा लगानीकर्ता भने पर्ख र हेरको अवस्थामा नै देखिन्छन्।
२०७८ भदौ २ गते कीर्तिमान बनेको हालसम्मकै उच्च ३१९९.०३ को बिन्दु पार हुने पर्खाइमा लगानीकर्ता लामो समयदेखि देखिन्छन्। गएको वर्ष साउन ३१ गते ३०००.८१ को बिन्दुसम्म पुगेको बजार त्यसयता उतारचढावमा देखिएकोमा गएको साउन १३ गते पनि ३००२.०८ बिन्दुसम्म पुगेको थियो।