शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ३३ प्रतिशत, दुवैतर्फ काम तीव्र

सोमबार, फागुन २३ २०७८
नागढुंगा सुरुङ मार्गको भौतिक प्रगति ३३ प्रतिशत, दुवैतर्फ काम तीव्र

हालसम्म मुख्य र सहायक सुरुङ गरि २५ सय ३२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरणमार्फत आयोजनाले सार्वजनिक गरेको छ। 

काठमाडौं- नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको काम तीव्र गतिमा हुन थालेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार हालसम्म सुरुङ मार्गको भौतिक प्रगति ३३ प्रतिशत पुगेको छ। त्यस्तै वित्तीय प्रगति भने ४० प्रतिशत पुगेको छ। 

मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङको काम समेत अघि बढाएको हो। 

समयमै आयोजना सम्पन्न गर्न दुई सिफ्टमा काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले जानकारी दिए। समग्रमा आयोजनाको कुल भौतिक प्रगति ४६ प्रतिशत पुगेको छ। आयोजनाकाअनुसार आइतबारसम्म काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्गको ९ सय ९५ मिटर र निकासी सुरुङमार्गको १३ सय ६७ मिटर सुरुङ खन्ने काम भइसकेको छ। 

हालसम्म मुख्य र सहायक सुरुङ गरि २५ सय ३२ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरणमा आयोजनाले सार्वजनिक गरेको छ। 

नगढुंगा सुरुङ मार्गको काम गत वर्ष पुस ७ गतेबाट सुरु थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी ०७६ कात्तिक ४ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ मार्गको शिलान्यास गरेका थिए। २.६८ किलोमिटर लम्बाईको सुरुङ मार्ग कोरोना महामारी लगायत विभिन्न कारणले केही ढिलाइ भएको थियो। 

समयमै काम सम्पन्न गर्न २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्ति सहितको टोलीले सुरुङमार्ग खन्ने काम गरिरहेको आयोजनाले जनाएको छ। हाल दैनिक औसतमा १० मिटरसम्म सुरुङ खन्ने काम भइरहेको र आगामी साउन–भदौसम्ममा सुरुङ खन्ने काम सकिने दाबी आयोजनाको छ। 

कोरोना महामारीका कारण आयोजनाको समय ८६ दिन थप गरिएको भए पनि तोकिएकै समयमा निर्माण पूरा गर्ने गरी काम भइरहेको छ। यो सुरुङ मार्ग ड्रिलिङ र ब्लास्टिङ प्रविधिबाट खनिएको छ। यो नै नेपालका पहिलो सडक सुरुङ मार्ग हो।  नागढुंगामा दुई सुरुङमार्ग निर्माण भइरहेका छन्।

पहिलो आकस्मिक सवारीको लागि ४ मिटर चौडाइको र अर्काे ९ मिटर चौडाईको सुरुङ बन्ने छ जसमा सवारीसाधन नियमित आवतजावत गर्नेछन्। 

यो सुरुङ मार्ग निर्माणको जिम्मा जापानी कम्पनी हाज्मा आन्दो कर्पोरेसनले पाएको हो। जापान सरकारको ऋण सहयोग र नेपाल सरकारको समेत लगानीमा यो सुरुङ मार्ग निर्माण भइरहेको हो। जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोग र सरकारको ४ अर्ब ८० करोड रुपैयाँ गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा आयोजना निर्माण भइरहेको छ। 


प्रकाशित : सोमबार, फागुन २३ २०७८०७:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend