शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ओमथान खोलामा बनाइयो ट्रस पुल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन २३ २०७८
ओमथान खोलामा बनाइयो ट्रस पुल

म्याग्दी- म्याग्दीको धौलागिरी गाउँपालिका-१ गुर्जास्थित ओमथान खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ।

लुलाङ हुँदै गुर्जा जोड्ने पदमार्गमा पर्ने ओमथान खोलामा निर्माण भएको पुलको आइतबार वडाध्यक्ष झकबहादुर छन्त्यालले शुभारम्भ गरे। पुलले गुर्जा आउजाउ सहज र सुरक्षित बनाउन सघाएको वडाध्यक्ष छन्त्यालले बताए। यसअघि सो ठाउँमा रहेको अस्थायी प्रकृतिको झोलुङ्गे पुल थियो । बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो।

गाउँपालिकाका इञ्जिनियर सोबिन जिसीका अनुसार २८ मिटर लामो पुल निर्माणका लागि उपभोक्ता समितिसँग ३० लाख ९३ हजार ३ सय ५२ रूपैयाँमा सम्झौता भएको थियो। पुलबाट २५८ घरधुरी लाभान्वित भएका छन्। टिभिएसयुद्वारा सञ्चालित स्वाप परियोजना, गाउँपालिका र समुदायको साझेदारीमा पुल निर्माण भएको हो। धौलागिरि गाउँपालिकामा गत वर्ष सुरु भएका चार वटा स्टिल ट्रस र तीन वटा झोलुङ्गे पुलमध्ये पाँच वटा सम्पन्न भएका इन्जिनियर जिसीले बताए। वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो।

वडा नम्बर ४ नाउराको कोपिलाघाटमा ४० लाख ९४ हजार ४ सय ५ रूपैयाँको लातमा ६७ मिटर लामो झोलुङ्गे र वडा नम्बर २ को आवासखोलामा ३२ लाख ४१ हजार ८ सय ४९ रूपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण भइसकेको गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए। गुर्जाको धुनधुनाखोलामा पनि २८ मिटर लामो स्टिल ट्रस पुल निर्माण सकिएको छ।

मुनाको पुल्टिसखोला र मल्कवाङको खोलाखर्कको झोलुङ्गे पुल अन्तिम चरणमा छन्। पुल निर्माणका क्रममा सामाजिक तथा प्राविधिक सहजीकरण गैरसरकारी संस्था मिलन म्याग्दीले गरेको थियो। रासस


प्रकाशित : सोमबार, फागुन २३ २०७८०५:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend