आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर एक प्रतिशतमा झार्ने राष्ट्र बैंकको निर्णय

आइतबार, मंसिर ७ २०८२
कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर एक प्रतिशतमा झार्ने राष्ट्र बैंकको निर्णय

काठमाडौं- नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकका ३५ सेयरधनीको सेयर एक प्रतिशतमा झार्ने निर्णय गरेको छ। समस्याग्रस्त संस्था घोषणा भइसकेको बैंकको व्यवस्थापन राष्ट्र बैंककै टोलीले सम्हालिरहेको अवस्थामा संस्थापक तथा सर्वसाधारण सेयरधनीले अवैधानिक रूपमा चुक्ता पुँजी भरेको प्रमाण फेला परेपछि सेयर पुँजी कटौती प्रक्रिया अघि बढाइएको हो।

राष्ट्र बैंकले समस्या समाधान नहुँदासम्म बैंकको सम्पूर्ण व्यवस्थापन आफ्नो संयन्त्रमार्फत नै सञ्चालन गरिरहने छ। सोहीअनुसार विभिन्न कदम चाल्ने क्रममा यो निर्णय राष्ट्र बैंकले गरेको हो।

नेपालगन्जस्थित बैंकको तर्फबाट प्रकाशित सूचनामा २५ संस्थापक र १० सर्वसाधारण सेयरधनीले चुक्ता पुँजी बुझाउनुपर्ने रकम आफ्नै स्रोतबाट नभइ पब्लिककै रकम अपचलन गरी चुक्ता गरेको देखिएको उल्लेख छ।

सम्पत्ति-दायित्व मूल्यांकन गर्दा बैंकको चुक्ता पुँजीमा ठूलो क्षति भएको, दायित्व सम्पत्तिले नखाम्ने अवस्था देखिएको र अवैधानिक चुक्ता प्रमाणित भएकाले कानूनी व्यवस्था अनुसार सेयर एक प्रतिशतमा झारिएको व्यवस्थापन समूहले स्पष्ट गरेको छ।

सूचनामा उल्लेख भएअनुसार पुनर्संरचना प्रक्रियाअन्तर्गत ती ३५ जनाको सेयर कटौती गर्दा संस्थापक समूहको अहिले कायम २१ लाख ६० हजार ६४ कित्ता सेयर घटेर २१ हजार ३६०.६१ कित्ता मात्र रहनेछ। यस्तै १० जना सर्वसाधारण सेयरधनीको १२ हजार ६८४.९८ कित्ता सेयर १ प्रतिशतमा घटेर १२६.८५ कित्ता मात्र रहनेछ।

नेप्सेमा सूचीकृत कर्णाली डेभलपमेन्ट बैंकको कुल ५० लाख २८ हजार ३०० कित्ता सेयरमध्यमध्ये संस्थापक समूहका २५ लाख ६४ हजार ४३३ कित्ता र सर्वसाधारणका २४ लाख ६३ हजार ८६७ कित्ता सेयर रहेको छ। सेयर कटौतीपछि संस्थापक र सर्वसाधारण मिलेर झण्डै २९ लाख १ हजार ४१ कित्ता सेयर मात्र कायम रहने देखिन्छ। यो बैंकको कुल सेयरको झण्डै ४२ प्रतिशत कटौती सरह हो।

अवैधानिक रूपमा सार्वजनिक रकम चलाएर सेयर चुक्ता गरिएको प्रमाण भेटिएको, चुक्ता पुँजी क्षति भएका र दायित्वले सम्पत्तिलाई नखाम्ने अवस्था सिर्जना भएको भन्दै राष्ट्र बैंकले ऐनअनुसार सेयर जफत गरी १ प्रतिशतमा झार्ने कदम चालेको हो।

KARNALAI.jpg


प्रकाशित : आइतबार, मंसिर ७ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend