शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तरकारी खेतीले फेरिँदै जीवनशैली

आइतबार, मंसिर ७ २०८२
तरकारी खेतीले फेरिँदै जीवनशैली

बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन्। खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ। गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन्। उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन्।

बागलुङ- बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन्। खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ। गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन्। उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन्।

अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन्। कोहीले उत्पदान गर्छन्। यही बेचेरै आफ्नो परिवार चलाउँछन्। बागलुङको काठेखोला गाउँपालिका-८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो।

विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ। तर, गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ।

यस गाउँका झण्डै एक सय परिवार तरकारीखेतीमा आबद्ध छन्। बजार नजिक र तरकारीखेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ।

धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पनि बढी हुनेहुँदा पछिल्लो समय अधिकांश स्थानीय तरकारीखेतीमा आबद्ध भएका हुन्।

तरकारीखेतीबाट राम्रो आम्दानी हुने हुँदा लेखानीवासीले गर्दै आएको कर्म छिमेकी गाउँलेले पनि सिको गर्न थालेका छन्। पहिले बन्दा र काउली बजारबाट किनेर लैजाने स्थानीय अहिले हजारौँ किलो तरकारी बजार पठाउँछन्।

व्यावसायिक तरकारीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयको जीवनस्तर सुधार हुँदै गएको स्थानीय लीलाधर कँडेलले बताए। गाउँमै तरकारीखेती गरेर सहज रूपमा परिवार पाल्न सकिँदासकिँदै पनि धेरैले सहर रोज्ने गरेको उनी बताउँछन्।

उनले भने, ‘गाउँमा सुन फलाउन सकिन्छ, तर गाउँका मान्छे कोही जापान, कोही कोरिया, कोही अमेरिका, कोही चितवन, पोखरा, काठमाडौँ गए, गाउँमा भएकाले खेती किसानी गर्न थालियो, सुरुमा त आफू जान नपाएकामा निरासा लाग्थ्यो, तर अहिले यहीँ खुसी लाग्छ, तरकारीले त गाउँका धेरैलाई खुसी दिएको छ, तरकारीखेती गरेका कोही पनि भोकै बस्नुपरेको छैन, राम्रै खान पाएका छन्, राम्रै लाउन पाएका छन्।’

गाउँका किसानलाई स्थानीय पालिका र विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन्। अनुदान र प्राविधिकसहित तालिम पाएका स्थानीय उत्साहित बनेका छन्। गाउँभरि प्लास्टिकका टनेल भेटिन्छन् ।

गाउँलेले तरकारीखेतीप्रति रुचि देखाएपछि दुई वर्ष अगाडि गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारीखेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो। त्यसपछि गाउँमा तरकारीखेती गर्नेको लर्को लाग्न थालेको छ।

तरकारीखेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय लक्ष्मी कँडेलले बताए। तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै बजार नजिक रहेको हुँदा बिक्रीका लागि समस्या नभएको उनको भनाइ छ।

गाउँबाट दैनिक गाडी बजार जानेआउने हुँदा तकारी पठाउन र सामान ल्याउनका लागि सहज भएको कँडेलले बताए। सुरुमा एउटा बारीमा मात्र सुरु गरेको तरकारीखेती अहिले बढाएर तीन बारीमा गर्न थालेको उनी बताउँछन्।

‘तरकारीखेती गर्नका लागि विभिन्न संस्थाले प्रेरित गरे, सुरुमा छिमेकी बसाइँ सरेर तराई जाँदा मलाई पनि जानुपर्छ कि भन्ने सोच आएको थियो, तर अहिले गाउँका छरछिमेक सबैले तरकारीखेती गर्न थालेपछि यहीँ रमाइलो लाग्न थाल्यो’, उनले भने, ‘बजार पाइँदैन कि भन्ने समस्या त छैन, कहिलेकाहीँ बाहिरबाट सस्तोमा तरकारी आउँदा हामीले पनि कम मूल्यमा दिनुपर्ने अवस्था आउँछ, राज्यले बाहिरबाट आउने तरकारीलाई रोक्न सके हामीजस्ता किसानले भनेको जस्तो मूल्य पाइन्थ्यो।’

पहिले परम्परागत रूपमा तरकारीखेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रु पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लीलप्रसाद कँडेलले बताए।

आफूले एक दशकदेखि नै तरकारीखेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ। पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसान व्यावसायिक बन्दै गएको कँडेलले बताए। रासस


प्रकाशित : आइतबार, मंसिर ७ २०८२०७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend