आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

के हो नबिल बैंकले ल्याउन लागेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर? कसले गर्न पाउँछन् लगानी?

आइतबार, मंसिर ७ २०८२
के हो नबिल बैंकले ल्याउन लागेको अविमोच्य असञ्चिति अग्राधिकार सेयर? कसले गर्न पाउँछन् लगानी?

नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने तयारी पूरा गरेको छ। बैंकले ५० करोड कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

काठमाडौं- नबिल बैंकले ५ अर्ब रुपैयाँबराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने तयारी पूरा गरेको छ। बैंकले ५० करोड कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ तोकिएको छ। यसमा बैंकले ८ प्रतिशत निश्चित प्रतिफल प्रस्ताव गरेको छ। सेयर बिक्री तथा निष्कासनको व्यवस्थापन निक्षेपकर्ता क्षेत्रमा क्रियाशील एनआईसी एसिया क्यापिटलले पाएको छ। 

धितोपत्र बोर्डले यसअघि कानूनी स्पष्टताकै अभावमा यस्तो प्रकारको सेयर निष्कासनको अनुमति रोक्दै आएको थियो। निर्देशिका संशोधनपछि राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थालाई मात्र यस्तो साधन प्रयोग गर्न दिने व्यवस्था मिलाइएपछि नबिल पहिलोपटक अघि बढेको बोर्डले जनाएको छ।

सन् २००७-२००९ को विश्वव्यापी वित्तीय संकटपछि बैंकहरूको पुँजी मजबुत बनाउन अन्तर्राष्ट्रिय बजारमा अपनाइने उपाय नै नेपालमा अब कार्यान्वयन हुन लागेको भन्दै बोर्डले यसलाई महत्वपूर्ण कदमको रूपमा हेरेको छ।

बोर्डका अनुसार अविमोच्य असञ्चिति अग्राधिकार सेयरमा केवल संस्थागत लगानीकर्ताले मात्रै लगानी गर्न पाउँछन्। व्यक्तिगत लगानीकर्ता, सामूहिक लगानी योजना तथा बोर्डबाट अनुमति पाएका दलाल व्यवसायीलाई यसबाट बाहिर राखिएको छ। वित्तीय जोखिम थेग्न सक्ने क्षमता भन्ने आधारमा मात्र संस्थागत लगानीकर्तालाई सहभागी गर्न दिइएको जनाइएको छ। दोस्रो बजारमा सूचीकरणपछि पनि यसको कारोबार संस्थागत लगानीकर्तामै सीमित हुनेछ।

के हो अविमोच्य असञ्चिति अग्राधिकार सेयर?

नाफा नहुँदा लाभांश वितरण गर्न नपाइने भएकाले यसलाई असञ्चिति भनिन्छ। नाफा भएको वर्षमै मात्र निश्चित प्रतिफल प्राप्त हुन्छ। भुक्तानी अवधि नतोकिएकाले यो सेयर पुँजीका रूपमा दीर्घकालीन हुन्छ। त्यसैले अविमोच्य मानिन्छ। राष्ट्र बैंकको प्रावधानअनुसार आवश्यकता परे यस्तो सेयर संस्थापक समूहको साधारण सेयरमा रूपान्तरण हुन सक्छ।

यो सेयरले ऋणपत्र र सेयर दुवैको गुण समेटेको हुन्छ। ऋणपत्रमा जस्तै निश्चित प्रतिफल पाउने तर कम्पनीको जोखिम पनि वहन गर्नुपर्ने संरचना भएकाले यसले पुँजी सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बोर्डले बताएको छ। कम्पनी विघटन भएमा यसको भुक्तानी साधारण सेयरभन्दा अघि तर ऋणदाता र निक्षेपकर्तापछि हुने व्यवस्था छ।

नबिल बैंक विगतमा उच्च लाभांश वितरण गर्ने वाणिज्य बैंकमध्ये एक हो। केही वर्षयता लाभांश घटे पनि बैंकका अनुसार आगामी वर्षमा नाफा बढेमा अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत निश्चित प्रतिफल बाँडेर बाँकी रकम साधारण सेयरधनीलाई बाँडिनेछ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढी छ। हाल बैंकको चुक्तापुँजी २७ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। साधारण सेयर दोस्रो बजारमा ५०० रुपैयाँभन्दा बढीमा कारोबार भइरहेकोमा अगामी अग्राधिकार सेयर भने १०० रुपैयाँ अंकित मूल्यमै बिक्री हुनेछ।

नेपालमा यसअघिका अग्राधिकार सेयरमध्ये केही साधारण सेयरमा रूपान्तरण भइसकेका छन्। एभरेष्ट बैंकले जारी गरेको अग्राधिकार सेयर साधारण सेयरमा परिणत भएको छ।

कृषि विकास बैंकले जारी गरेको अग्राधिकार सेयर भने कम्पनी रहुन्जेल कायम रहनेछ। अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न हाल पनि आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्था तयारी अवस्थामा छन्। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाले बाटो खुलाइदिएपछि कामना सेवा विकास बैंकले ९ प्रतिशत प्रतिफलसहित यस्तो सेयर जारी गर्ने निर्णय गरिसकेको छ।


प्रकाशित : आइतबार, मंसिर ७ २०८२०७:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend