शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई बेलकोटगढी नगरपालिकाले नगद सहयोग गर्ने

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर ५ २०८२
वर्षाले धानबालीमा क्षति पुगेका किसानलाई बेलकोटगढी नगरपालिकाले नगद सहयोग गर्ने

धानबालीमा पुगेको क्षतिको राहत वितरणका लागि कृषि प्राविधिकसँगको रायका आधारमा पारदर्शी र वैज्ञानिक मापदण्ड अपनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ।

नुवाकोट- नुवाकोटको बेलकोटगढी नगरपालिकाले हालैको अविरल वर्षाका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहतस्वरूप नगद उपलब्ध गराउने भएको छ। त्यसका लागि नगरपालिकाले ‘विपद् व्यवस्थापन राहत कोष’ स्थापना गरेको छ।

नगर कार्यपालिकाको बैठकले किसानलाई राहत वितरणका लागि करिब ८० लाख लाग्ने अनुमानसहित स्रोत सुनिश्चित गर्दै एक साताभित्र वडा कार्यालयमार्फत राहत रकम वितरण गर्ने निर्णय गरेको हो।

धानबाली क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउन जनप्रतिनिधिहरूको एक महिनाको सेवासुविधा, नगरपालिका र वडा कार्यालयका सम्पूर्ण कर्मचारी, स्वास्थ्य संस्था, विद्यालयका शिक्षक–कर्मचारीको एक दिनको तलब उक्त कोषमा जम्मा गर्ने निर्णय भएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए। उनका अनुसार अपुग हुने रकम नगरपालिकाबाट थप गरिनेछ।
 
गत कात्तिक ११ गतेदेखि परेको अविरल वर्षाले प्रभावित भएका किसानको कात्तिक १६ गतेदेखि तीन दिन लगाई तथ्याङ्क सङ्कलन गरिएको थियो। जनप्रतिनिधि, प्रहरी र कृषि प्राविधिकको रोहवरमा गरिएको क्षतिको विवरण र किसानले दिएको निवेदनका आधारमा नगरका एक हजार ५५७ किसान प्रभावित भएको नगर उपप्रमुख शिवप्रसाद दाहालले जानकारी दिए। उनका अनुसार ती किसानले सात हजार ७४५ रोपनी खेतमा लगाएको धानबालीमा वर्षाले क्षति पुगेको पाइएको छ।

धानबालीमा पुगेको क्षतिको राहत वितरणका लागि कृषि प्राविधिकसँगको रायका आधारमा पारदर्शी र वैज्ञानिक मापदण्ड अपनाउने कार्यपालिका बैठकले निर्णय गरेको छ। त्यसका लागि पीडित किसानलाई जग्गाको भूगोलका आधारमा राहत वितरण मापदण्ड बनाइएको प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार धानबाली क्षति भएको एकदेखि तीन रोपनीसम्मलाई प्रतिरोपनी एक हजार ३००, चारदेखि पाँच रोपनीसम्म प्रतिरोपनी एक हजार, छदेखि सात रोपनीसम्मलाई प्रतिरोपनी आठ सय ५०, आठदेखि नौ रोपनीसम्मलाई सात सय ५० र १० रोपनीभन्दा धेरै खेतमा क्षति पुगेका किसानलाई प्रतिरोपनी छ सय ७५ का दरले नगद उपलब्ध गराउने निर्णय भएको छ।

नगरपालिकाले पीडित किसानलाई समयमै राहत पुर्याउने प्रतिबद्धतासहित कोषमा रकमको व्यवस्थापन गर्दै वडा कार्यालयमार्फत नगद वितरण गरेर किसानलाई सहज रूपमा सेवा दिने जनाएको छ। राहत रकम लिन पीडित किसानलाई एक साताभित्र वडा कार्यालयमा सम्पर्कमा आउन भनिएको छ। रासस


प्रकाशित : शुक्रबार, मंसिर ५ २०८२०९:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend