सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बैंकहरूमा ११ खर्बभन्दा बढी तरलता थुप्रियो, सीडी रेसियो ७४ प्रतिशतमा झर्दै

शुक्रबार, मंसिर ५ २०८२
बैंकहरूमा ११ खर्बभन्दा बढी तरलता थुप्रियो, सीडी रेसियो ७४ प्रतिशतमा झर्दै

निजी क्षेत्रका लागि ऋण माग कमजोर बन्दा वाणिज्य बैंकहरूको कोष उपयोग क्षमता घट्दै गएको छ। ऋण लगानी ठप्पजस्तै भएपछि बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ।

काठमाडौं- निजी क्षेत्रका लागि ऋण माग कमजोर बन्दा वाणिज्य बैंकहरूको कोष उपयोग क्षमता घट्दै गएको छ। ऋण लगानी ठप्पजस्तै भएपछि बैंकिङ प्रणालीमा ११ खर्ब रुपैयाँभन्दा बढी तरलता थुप्रिएको छ।

राष्ट्र बैंकको तथ्यांकअनुसार समग्र बैंक तथा वित्तीय प्रणालीको कुल निक्षेप ७५ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ५६ खर्ब ४४ अर्बमा सीमित छ। जसको ग्याप १८ खर्ब ७१ अर्ब रुपैयाँ छ। यसमध्ये करिब ११ खर्ब रुपैयाँ वाणिज्य बैंकहरूले तत्काल कर्जा दिन सक्ने तरल कोष रहेको देखिन्छ।

वाणिज्य बैंकहरूमा मात्र ६७ खर्ब ५८ अर्ब निक्षेप छ भने कर्जा प्रवाह ५० खर्ब २२ अर्बमा रोकिएको छ। कर्जा विस्तार नबढेपछि समग्र प्रणालीको सीडी रेसियो ७४.२५ प्रतिशतमा झरेको छ। जब कि नियामक सीमा ९० प्रतिशत रहेको छ।

६ बैंकको मात्रै सीडी रेसियो ८० प्रतिशतमाथि

२० वाणिज्य बैंकमध्ये ६ बैंकको सीडी रेसियो ८० प्रतिशत नाघेको छ। सबैभन्दा अगाडि प्राइम बैंक रहेको छ, जसको सीडी रेसियो ८६.२६ प्रतिशत पुगेको छ। त्यसपछि एनएमबी बैंक (८४.८८ प्रतिशत) र सानिमा बैंक (८३.५३ प्रतिशत) छन्।

उच्च सीडी अनुपातले आक्रामक कर्जा विस्तार गरेको संकेत गर्छ तर पछिल्लो समयमा एनआईसी एशिया र सिद्धार्थ बैंकजस्ता विगतका तीव्र कर्जा विस्तारकर्ता संस्थाहरू भने व्यवसाय घटाउने रणनीतिमा लागेका छन्।

उच्च सीडी रेसियोले जोखिम बढायो

बैंकहरूको सीडी रेसियो बढ्दै जाँदा तरलता जोखिम पनि बढ्ने विश्लेषकहरूको टिप्पणी छ। उच्च अनुपातमा कर्जा दिँदा आकस्मिक कोष व्यवस्थापन चुनौती बन्छ र बजार अस्थिर हुँदा समस्याको सम्भावना बढ्ने देखिन्छ।

यता राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार केही बैंकहरूको एनपिए (खराब कर्जा) ५ प्रतिशतभन्दा माथि पुगेको छ। यस्ता बैंकहरूलाई कर्जा असुली, पुनर्संरचना र जोखिम व्यवस्थापनमा सक्रिय हुन नियामकहरूले ध्यानाकर्षण गराएका छन्।

बैंकको सीडी रेसियो

बैंक

सीडी रेसियो (प्रतिशत)

प्राइम

८६.२६

एनएमबी

८४.८८

सानिमा

८३.५३

सिटिजन्स

८२.५९

कुमारी

८१.८२

हिमालयन

८०.४२

माछापुच्छ्रे

७९.२७

नबिल

७९.१९

एभरेष्ट

७८.१०

ग्लोबल

७८.०५

इन्भेष्टमेन्ट

७५.२८

लक्ष्मी

७४.२८

कृषि विकास

७२.८६

एनआईसी एशिया

६९.४२

नेपाल बैंक

६९.९२

नेपाल एसबीआई

६८.८९

प्रभू

६८.६३

स्ट्याण्डर्ड चार्टर्ड

६६.०८

राष्ट्रिय वाणिज्य

६०.७९


प्रकाशित : शुक्रबार, मंसिर ५ २०८२०८:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend