शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

तनहुँमा मकै उत्पादन बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , मंसिर ४ २०८२
तनहुँमा मकै उत्पादन बढ्यो

आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ।

तनहुँ- व्यास नगरपालिका-१० दुम्सीस्थित दरै सामुदायिक घरबास (होमस्टे) पुग्नेबित्तिकै अग्ला मकैका माच देखिन्छन्। यहाँ आउने जोकोही थाङ्ग्रो देखेर अचम्म मान्छन्। 

दरै सामुदायिक घरबासका सञ्चालक आशा दरै भन्छन्, 'यही माचमा फोटो खिच्न र टिकटक बनाउन पाहुनाहरू व्यस्त हुन्छन्। विगतका वर्षमा ठूलो सुली भए पनि एउटा मात्रै थियो। यस वर्ष धेरै मकै फल्यो सुली पनि विशाल छ।' यो वर्ष पर्याप्त उत्पादन भएका दुम्सीका घरैपिच्छे मकैका सुली भेटिन्छन्।

विगतमा मकै लगाउने बेला तथा गोड्ने बेलामा किरा लाग्नुका साथै मलको अभाव किसानले बेहोर्नुपरेको थियो। यो वर्ष समस्या नभएकाले जिल्लामा पर्याप्त मकै उत्पादन भएको कृषि विकास कार्यालयका बाली विकास अधिकृत किरण परियारले बताए।  

आव २०७९/८० मा २२ हजार २३८ हेक्टर क्षेत्रफलमा गरिएको मकैखेतीबाट ६७ हजार १५ मेट्रिक टन उत्पादन भएको थियो। २०८०/८१ मा २२ हजार ३४८ हेक्टर क्षेत्रफलबाट ६७ हजार २०० मेट्रिक टन मकै उत्पादन भएको थियो भने उत्पादकत्व तीन दशमलव ०१ रहेको थियो। आव २०८१/८२ मा २२ हजार १९५ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ७३ हजार २४६ मकै उत्पादन भएको छ। 

'तनहुँ धानका साथै मकै उत्पादनको क्षेत्र पनि हो। जिल्लाको ऋषिङ गाउँपालिका नै पहिले मकैको बीउ उत्पादनको पकेट क्षेत्र हो', बाली विकास अधिकृत परियारले भने। तनहुँ धान, मकै, कोदो, गहुँ, भटमास, अदुवाका लागि उपयुक्त छ। सुन्तला उत्पादनको मुख्य पकेट क्षेत्र पनि हो। रासस


प्रकाशित : बिहीबार , मंसिर ४ २०८२१०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend