शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

गहुँ छर्ने समयमा किसानलाई मल अभाव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर ३ २०८२
गहुँ छर्ने समयमा किसानलाई मल अभाव

सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन्। कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन्।

कैलाली- कैलालीको घोडाघोडी नगरपालिका-३ की काजल चौधरी सहकारी संस्थामा मल आयो भन्ने खबर सुन्नासाथ हतार-हतार दौडिन्छिन्। जुरपानीस्थित इभरग्रिन कृषि सहकारी संस्थाबाट रासायनिक मल पाउने आशामा उनले अहिलेसम्म चार पटकभन्दा बढी लाइन बसिसकेकी छिन्। 

बिहानै ४ बजेदेखि सयौँ कृषकसँगै लाइन बस्ने उहाँको पालो भने अझै आएको छैन। 'जति पटक आएँ, पनि मल पाउनै गाह्रो भयो, लाइन बस्दा बस्दै फर्कनुपर्छ', उनले दुखेसो पोखिन्।

उनीसँगै घोडाघोडी-३ की सीता चौधरी पनि मलका लागि पटकपटक लाइन बसेर थाकिसकेका छन्। धेरै पटकको प्रयासपछि उनले बल्लतल्ल एक बोरा युरिया मल हात पारिन्। एक बिघाभन्दा बढी जमिनमा गहुँ लगाउने योजना बनाएकी सीता भन्छिन्, 'तीन बोरा डीएपी र दुई बोरा युरिया चाहिन्छ, तर सहकारीले एक बोरा युरिया मात्रै दिएको छ, एक बिघामा त छरिसके, अझै आठ कट्ठा खेतमा गहुँ छर्न बाँकी छ।'

घोडाघोडी नगरपालिका-१ स्थित चुरे कृषक सहकारी संस्थामा मल आउने बित्तिकै किसानहरुको भीड लाग्ने गर्छ। सहकारीले तोकेको परिमाणभन्दा बढी मल नपाइने, बिहान सबेरैदेखि लाइन बस्नुपर्ने, कहिले मालसामान नआएको भन्दै फर्काइने जस्ता समस्या कृषकले भोगिरहेका छन्। कतिपय किसान त मल नपाएरै गहुँ छर्न बाध्य भएका छन्।   

घोडाघोडी नगरपालिका-३ का ज्ञानु चौधरीले मलविना नै गहुँ छरिसकेकी छिन्। 'समयमै गहुँ छर्नुपर्‍यो, मलको आस गर्दै बस्दा ढिला हुने भयो', उनले भनिन्। 

ज्ञानुले जस्तै घोडाघोडी-८ का डम्बर विष्टले मलविना नै गहुँ छरे। जसोतसो सहकारीमा लाइन लागेर आज बल्ल पाएको उनले सुनाए। अहिले धेरै किसान मलको आशामा बसिरहेका छन्। गहुँ छर्ने मुख्य समय बित्दै जाँदा किसानको चिन्ता झन् बढ्दो छ। समयमै मल नपाउँदा उब्जनीमा असर पर्छ भन्ने चिन्तामा किसान छन्। युरिया मलको अभाव रहेपनि डिएपी मल धेरै जसो किसानहरुले पाइसकेका छन्।

समयमै गहुँ नछर्दा उत्पादन घट्ने सम्भावना हुने घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामी बताउँछन्। उनका अनुसार प्राविधिक हिसाबले तोकिएको समयमा बीउ नछरिँदा गहुँको बालामा दाना कम लाग्ने, बिरुवा राम्रोसँग नबढ्ने र कूल उत्पादनमा गिरावट आउने सम्भावना रहन्छ।

कैलालीमा गहुँ छर्ने समय एक साता बाँकी छ। धेरै किसानले गहुँ रोप्नुअघि नै युरिया मल हाल्नुपर्छ भन्ने गलत धारणा राख्ने गरेको धामीको बुझाइ छ। युरियामा पाइने नाइट्रोजन डिएपीमा १८ प्रतिशत हुन्छ। त्यसैले सुरुमा डिएपी मल भए पुग्ने उनले बताए। रासस


प्रकाशित : बुधबार, मंसिर ३ २०८२१०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend