शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

हराउँदै कोदो, बढ्दै माग

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
हराउँदै कोदो, बढ्दै माग

युवाहरु विदेश र सहरतिर, गाउँमा  बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ। यहाँको दुई वर्षको तथ्यांक हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ।

पाल्पा- पाल्पाका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदोखेती हराउँदै गएको छ। मुख्यतया नगदे बालीको लोकप्रियता, कोदोखेतीमा धेरै मेहनत र लगानीको आवश्यकता भएका कारणले धेरै किसानले कोदोखेती छाड्दै गएको पाइन्छ। 

जिल्लाका कृषकहरू अहिले अन्य नगदेबाली खुर्सानी, आलु, अदुवा, बेसार र तरकारीखेतीतर्फ आकर्षित भएका छन्। जसले गर्दा कोदो जस्ता परम्परागत बाली लोप हुँदै गएका हुन्। जिल्लाको केही क्षेत्रमा कोदोखेती अझै  केही मात्रामा भइरहेको भए पनि, यी क्षेत्रमा समेत उत्पादनमा कमी आएको देखिन्छ। यहाँका कोदो फल्ने  अधिकांश बारीमा घाँस र पातपतिङ्गर जस्ता झारले भरिएको छ।

एक दशकअघिसम्म यहाँको रिब्दीकोट बगनासकाली गाउँपालिका सिरुखर्काकी शर्मिला थापाको बारीमा झण्डै तीन मुरी कोदो फल्थ्यो। काम गर्ने समस्या भएपछि पछिल्ला वर्षमा कोदो लगाउन उनले छाड्न थाले। उनले कोदोखेती गर्दै आएको जग्गा बनमारा र बोकेझारले भरिएको छ। छोराहरू जागिरको सिलसिलामा सहरमा भएकाले घरमा काम गर्ने मान्छे नभएको थापाले बताइन्। 

बगनासकाली गाउँपालिका खानेगाउँका दीपक पचाभैया पनि धेरै कोदो उत्पादन गर्ने किसान हुन्। तर उनले पनि पछिल्लो वर्षमा लगाउन छाडेका छन्। केही वर्षअघिसम्म पनि बगनासकाली, रैनादेवी छहरा, रिब्दीकोट माथागढी, निस्दी, पूर्वखोला, रम्भा, तिनाउलगायत जिल्लाका अन्य किसानहरुको मुख्य बाली कोदो थियो।

युवाहरु विदेश र सहरतिर, गाउँमा  बूढाबूढी र केटाकेटी मात्र हुँदा पनि खेती गर्नेको सङ्ख्या हरेक वर्ष घट्दो छ। यहाँको दुई वर्षको तथ्यांक हेर्ने हो भने पनि कोदोखेती गर्ने क्षेत्रफल घट्दै गएको पाइन्छ। 

यहाँ आर्थिक वर्ष २०८०/८१ मा दुई हजार ३६३ हेक्टर क्षेत्रफलमा कोदोखेती भएको थियो। जुन आर्थिक वर्ष २०८१/८२ मा आएर दुई हजार ३४९  हेक्टर क्षेत्रफलमा झरेको कृषि ज्ञान केन्द्र पाल्पाका प्राविधिक सुरज पाण्डेयले बताए।

उनका अनुसार कृषकहरु सुन्तला जातका फलफूलतर्फ आकर्षित हुँदै गएपछि कोदोखेती हुने क्षेत्रफल घट्दै गएको हो। कोदो हुने बारीमा अहिले फलफूल लगाउने गरिएको छ। परम्परागत शैलीमा स्थानीय जातको बीउ प्रयोग गरी मकैमा घुसुवा बालीका रुपमा लगाइने कोदो प्रायजसो जिल्लाका सबै गाउँ बस्तीमा हुन्थ्यो तर आजभोलि सबै हराए।

कोदो हराउँदै गए पनि माग भने बढ्दो रहेको छ। पछिल्लो केही वर्षयता यहाँका होटलहरुमा कोदोका परिकारको माग बढेको तानसेन कैलाशनगरका होटल व्यवसायी दीपक अधिकारीले बताए।

कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेको उनको भनाइ छ। माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको कार्कीले बताए। बजारमा सहजरुपमा कोदोको पीठो पाउन गाह्रो हुने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१७:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend