शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
परम्परागत कपास खेती प्रवर्द्धन गर्दै अरुण गाउँपालिका

संघीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त ३० लाख रुपैयाँ बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान-चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ।

भोजपुर- भोजपुरको अरुण गाउँपालिकाले परम्परागत कोगटी (कपास) खेती संरक्षण र प्रवर्द्धन थालेको छ। गाउँपालिकाले हराउँदै गएको यो परम्परागत खेतीलाई जोगाउँदै व्यावसायिक रूप दिन प्रयास थालेको हो।

कपासबाट धागो कातेर हातले कपडा बुन्न सकिने भएकाले यसबाट बन्ने कपडाको मूल्य उच्च हुने गर्दछ। कोगटीखेती गर्दै आएका स्थानीय कृषक देवकुमार राईका अनुसार एक थान कोगटीबाट बनेको कपडा २५ हजारदेखि ३५ हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

अहिले उनले २० रोपनीमा क्षेत्रमा कोगटीखेती गरिरहेका छन्। कोगटीबाट बनेको खैरो कपडा महँगो पर्ने उनको भनाइ छ। उनले यसको खेतीबाट गत वर्ष मात्र तीन लाख ५० हजार आम्दानी गरेको बताए।

कोगटीबाट खैरो र सेतो गरी दुई प्रकारका धागो उत्पादन हुन्छ। त्यसलाई तानमा लगाएर दौरा-सुरुवाल, कोट, टोपी, झोला, रुमाललगायतका कपडा बनाइन्छ। बजारमा यसको माग उच्च रहेको सिमटार कृषक समूहका अध्यक्ष दर्जकुमार राईले बताए। १९ जना किसान मिलेर २५ रोपनी क्षेत्रमा सामूहिक कोगटीखेती गर्दै आएको उनले बताए। 

गाउँपालिकाले कोगटीखेती संरक्षण र विस्तारका लागि उन्नत जातका बीउ, खेतीका  लागि औजार-उपकरण, र कोगटीको धागोबाट हातको सहायताले कपडा बनाउने तालिम उपलब्ध गराउँदै आएको अध्यक्ष शालिकराम खत्रीले जानकारी दिए।

संघीय सरकारको लघु घरेलु तथा साना उद्योग कार्यालयबाट प्राप्त ३० लाख रुपैयाँ बजेटमा कोगटी प्रशोधन मेसिन, परम्परागत तान-चर्खा, तालिम तथा उद्योग भवन मर्मतसमेत गरिएको छ।

यस वर्ष गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा २५ लाख बराबरको कोगटीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने भएको छ।

वडा नं ६ का अध्यक्ष गणेश टक्का राईका अनुसार जरायोटारको सिमटार, जोगीटार, वैरेनी, बास्ताङ, बसेरी, चोम्ताङ क्षेत्रमा कोगटीखेती बढी खेती हुने गरेको छ। यहाँका २५-३० घरधुरीले व्यावसायिक रूपमा खेती गर्दै आएका छन्। रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend