शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पोखरा महानगरका किसानलाई आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
पोखरा महानगरका किसानलाई आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा

आलुको बीउ उत्पादनका लागि पनि किसानलाई अनुदान सहयोगसमेत गरिएको थियो। तिनै किसानबाट उत्पादित बीउ खरिद गरी अनुदानमा वितरण गरिएको हो।

गण्डकी- पोखरा महानगरपालिकाले हिउँदेखेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरभित्रका किसानलाई आलु, गहुँ र तोरीको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

महानगरपालिकाले यहाँका किसानलाई २७ हजार किलोग्राम आलुको बीउ वितरण गरेको कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए।

उक्त बीउबाट महानगर क्षेत्रभित्र तीन हजार रोपनी क्षेत्रफलमा आलुखेती हुने उनले जानकारी दिए। पोखराका विशेषतः हेमजा, पामे ठूलाखेत, कुँडहर फाँट, अर्मला, लेखनाथका मालमूल, बेलबुटेलगायत स्थानमा पर्याप्त मात्रामा आलुखेती गरिन्छ।

पोखरामा आलुको उत्पादन क्षेत्र एक हजार दुई सय ५० हेक्टर रहेकामा उत्पादकत्व प्रतिहेक्टर २० मेट्रिकटन रहेको प्रमुख कडरियाले जानकारी दिए। पोखरामा वार्षिक करिब २५ हजार मेट्रिकटन आलु उत्पादन हुने गरेको छ।

उनका अनुसार आलुको बीउ उत्पादनका लागि पनि किसानलाई अनुदान सहयोगसमेत गरिएको थियो। तिनै किसानबाट उत्पादित बीउ खरिद गरी अनुदानमा वितरण गरिएको हो।

महानगरपालिकाले किसानलाई पाँच हजार पाँच सय किलो गहुँको बीउ तथा छ सय किलो तोरिको बीउ पनि अनुदानमा वितरण गरेको कडरियाले जानकारी दिए।

वितरण गरिएको गहुँको बीउबाट एक हजार रोपनी क्षेत्रफलमा गहुँखेती हुने तथा तोरीबाट एक हजार रोपनी क्षेत्रफलमा तोरीखेती हुने जनाइएको छ। रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend