शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १ २०८२
तीन दशकपछि गाउँ फर्किएर तरकारी खेतीमा रमाउँदै कमलप्रसाद

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो। जन्मथलो फर्किएपछि उनले बस्नको लागि सामान्य घर निर्माण गरेका छन्। साना-साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाएका छन्।

म्याग्दी- व्यवसायको लागि तीन दशकअघि बजार झरेका पर्वतको जलजला गाउँपालिका-४ मल्लाज भवानीपानीका कमलप्रसाद पौडेल जन्मथलो फर्किएर बाँझिएको बारीलाई तरकारीखेती गरेर हराभरा बनाएका छन्। 

सुविधा र अवसरको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन हुने क्रम बढिरहेका बेला ५५ वर्षीय पौडेलले बजारबाट गाउँ फर्किएर व्यावसायिक तरकारीखेती सुरु गरेका हुन्।

विसं २०५० मा घर, जग्गा र खेती किसानी छाडेर बेनी बजार झरेका थियौँ,' उनले भने '२० वर्ष बेनीमा व्यवसाय गरे। करिब १२ वर्ष भारत र नेपालकै विभिन्न सहरमा नोकरी गरे। सोचेजस्तो सफलता हात नपरेपछि फेरि गाउँ फर्किएर तरकारी खेती गर्न थालेको हो।' 

तरकारी खेतीका लागि पौडेलले चार रोपनी पुख्यौली पाखोबारीलाई व्यवस्थापन गरेका छन्। गत वर्षसम्म झाडीले भरिएको बारीमा अहिले बन्दा, काउली र ब्रोकाउली खेती गरेर हराभरा भएको छ।

सडक, यातायात, सिँचाइ र बजारको सुविधा भएकाले तरकारी खेतीमा पौडेलले सम्भावना देखेका छन्। बारीकै छेउको सडक भएर गुड्ने गाडीले तरकारी ढुवानी गरेर म्याग्दीको सदरमुकाम बेनीमा झार्छ। बेनीबाट मुस्ताङसम्म तरकारी बिक्री हुन्छ। बजारको समस्या नभएको पौडेलले बताए। 

खेती गर्न छाडेपछि पुख्यौली जग्गा उपभोगविहीन भएको थियो। '५० को दशकमा गाउँ छाड्ने लहरनै चलको थियो, त्यही लहरमा हामी पनि बजार झर्‍यौ,' उनले भने 'बजारमा दुःखसुख गरेर छोराछोरी पढाएँ, दुई छोरा सरकारी जागिरे छन, छोरी विदेशमा छिन्। खेर गएको जग्गा सदुपयोग गर्न तीन दशकपछि गाउँ फर्किएका हौँ।' 

बजारमा बस्न थालेपछि पौडेलको पुरानो घर भत्किएको थियो। जन्मथलो फर्किएपछि उनले बस्नको लागि सामान्य घर निर्माण गरेका छन्। साना-साना पाखोबारीका पोहोटालाई पर्खाल लगाएर सम्माई गरा बनाएका छन्।

मेहनत र परिश्रम गर्ने हो भने गाउँमा पनि अवसर र सम्भावना भएको सन्देश पौडेलले दिएका उनका छिमेकी गोपाल आचार्यले बताए। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको मल्लाज पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडामा पर्छ। 

फरक जिल्ला भए पनि प्रशासनिक बाहेक मल्लाजको सामाजिक, आर्थिक, ब्यापारिकसम्बन्ध म्याग्दीसँग धेरै छ। विसं २०४६ देखि सुरु भएको बृहत मल्लाज सिँचाइ आयोजना विसं २०७४ मा सम्पन्न भएपछि यहाँका किसानलाई सहज भएको छ। त्यसअघि सिँचाइको असुविधाले गर्दा किसानलाई खेती बाली लगाउन समस्या थियो। रासस


प्रकाशित : सोमबार, मंसिर १ २०८२१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend