शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

देउपुरमा धमाधम सुक्न थाले सुन्तलाका बोट, झाडीले ओगट्यो बगान

आइतबार, कात्तिक ३० २०८२
देउपुरमा धमाधम सुक्न थाले सुन्तलाका बोट, झाडीले ओगट्यो बगान

घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ। किसानहरुले सुन्तलाको विकल्पमा अन्य खेती रोज्न थालेका छन्।

पर्वत- सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा सुन्तलाका बोट धमाधम सुक्न थालेका छन्। पछिल्ला केही वर्षयता जलवायु परिवर्तनको असरसँगै तापक्रम वृद्धि र विभिन्न रोगकीराको सङ्क्रमणपछि सुन्तलाका बोट मर्न थालेका हुन्।

धान, कोदो, मकैजस्ता मुख्य बाली छाडेर सुन्तला रोपेका यहाँका किसान अहिले वैकल्पिक खेती गर्न थालेका छन्। उनीहरूले सुन्तलाको विकल्पमा केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेती गर्न थालेका हुन्।

कुनै समय जिल्लामै सबैभन्दा बढी पाँचसय बोट सुन्तला लगाएर मनग्य कमाइ गर्ने स्थानीय ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेतीबाट विस्थापित भएका छन्। उनले अहिले मौरीपालन र अदुवा, बेसारखेती गरेका छन्। सुन्तला बगान अहिले सुकेका बोट र झाडीले भरिएको छ।

सबै बोट सुकिसकेपछि उनले मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रका प्राविधिकलाई समस्या पत्ता लगाइदिन अनुरोध गरे। काठमाडौंसम्म लगेर परीक्षण गर्दा ‘सिट्रस ग्रिनिङ’ रोगको जोखिम थाहा भएपछि उनले सुन्तलाखेती नै छाडेका हुन्।

सात रोपनी क्षेत्रफलमा सुन्तलाखेती गर्दै आएकी सोही ठाउँकी डिलकुमारी तिमिल्सिनाले पनि अहिले सुन्तलाका बोट मासेर केरा, कोदो र अदुवाखेती लगाएको बताइन्। घरअगाडिको बगैँचाका सुन्तलाका सबै बोट मरेपछि अहिले सुन्तलाका दाउरा बनाइएको छ। लामो समयदेखि सुन्तलाको व्यावसायिक खेती गर्दै आएका किसान विस्थापित बन्दै गइरहेको स्थानीय दाताराम चापागाईँले जानकारी दिए।

विगत केही वर्षअघिसम्म वार्षिक पाँच करोड रूपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने यो गाउँमा अहिले मुस्किलले दुई करोड रूपैयाँसम्म भित्रिने चापागाईँको अनुमान छ। लाखौँ लगानी गरेर सुन्तलाखेती गरिरहेका किसान चिन्तित बनेका उनले बताए।

मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाले देउपुरको सुन्तला बगैँचामा अब अम्लीय जातका फलफूलको उत्पादन हुन नसक्ने बताइन्। ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ‘ब्याक्टेरिया’ले त्यहाँका बगैँचा सखाप पारिदिएको भन्दै उनले उक्त बगैँचामा वैकल्पिक खेती गर्नुको विकल्प नरहेको बताइन्।

पातहरूमा पहेँलो र हरियो भाग मिसिएको रंग देखिँदै फल सानो, बांगो, स्वादमा गुणस्तर घट्दै जाने र बीउ असमान बन्दै जान थालेको भन्दै तिमिल्सिनाले क्रमशः कमजोर हुँदै गएर रुख मर्ने नै यसको समस्या रहेको बताइन्। सङ्क्रमित रुख तुरुन्त उखेल्ने र नष्ट गरेर त्यहाँको हावापानीअनुसारको खेती गर्नु नै उत्तम विकल्प हुने उनको सुझाव छ।

कृषि शाखा प्रमुख तिमिल्सिनाले त्यो ठाउँमा अम्लीय जातका फलफूलको विकल्पका रूपमा केरा, कफी, कोदो, अदुवा, अम्बा, बेसारलगायतका खेती गर्न सकिने सुझाव दिएकी छिन्।

यहाँका झन्डै १५० परिवार व्यावसायिक सुन्तलाखेती गर्दै आएका थिए। सुन्तलाखेतीमा समस्या आएपछि किसानको आकर्षण घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२११:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend