शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

व्यावसायिक फूलखेतीबाट वार्षिक ८ लाख रूपैयाँसम्म बचत

आइतबार, कात्तिक ३० २०८२
व्यावसायिक फूलखेतीबाट वार्षिक ८ लाख रूपैयाँसम्म बचत

अत्तरिया- कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी सुशीला विष्टले व्यावसायिक फूलखेतीबाट राम्रो आम्दानी लिन थालेकी छिन्।

फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न थालेकी हुन्। दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गर्दै आएको बताउँदै विष्टले फूलबाट वार्षिक २० लाख रूपैयाँसम्मको कारोबार हुने गरेको बताइन्।

आम्दानी राम्रै हुन्छ। कामदारलगायत सबै खर्च कटाएर वार्षिक ८ लाख रूपैयाँसम्म बचत हुन्छ। बाह्रै महिना फूल उत्पादन हुन्छ, यस वर्षको दसैँतिहारमा मात्र करिब १० लाख रूपैयाँबराबरको कारोबार भएको उनले बताइन्।

'मूल्य समयअनुसार फरकफरक हुन्छ। फूल प्रतिकिलो १५० देखि पाँचसय रूपैयाँसम्म र प्रतिमाला ६० देखि एकसय रूपैयाँसम्ममा बिक्री गर्ने गरिएको छ', उनले भनिन्, 'चार जनाको परिवार छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुन्छ। स्वरोजगार बनिएको छ।'

धनगढी उपमहानगरपलिकाले दिएको फूलखेतीसम्बन्धी एकहप्ते तालिम लिएर फूलखेतीमा लागेको बताउँदै उनले सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारीलगायतका फूल उत्पादन गर्दै आएको बताइन्। उनले आफ्नो फार्ममा आठ जनालाई प्रतिव्यक्ति ६ सयका दरले दैनिक ज्याला दिएर रोजगारी दिएको बताइन्।

उनले व्यावसायिक फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको बताइन्।

फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरपालिकाबाट प्लाष्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन्। फूलखेतीमा बीमा पोलिसी नभएको बताउँदै उनले बीमा पोलिसी भए फूलखेती गर्ने किसानलाई अझै सहज हुने बताइन्। रासस


प्रकाशित : आइतबार, कात्तिक ३० २०८२१०:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend