काठमाडौं- बैंकिङ प्रणालीमा तरलता बढेसँगै निक्षेपको ब्याजदर घटेको प्रभाव कर्जाको ब्याजदरमा प्रत्यक्षरूपमा देखिन थालेको छ। वाणिज्य बैंकहरूले प्रकाशित गरेका हालैका अपरिष्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको असोज महिनामा वाणिज्य बैंकहरूको औसत आधारदर घटेर ५ दशमलव ६० प्रतिशतमा पुगेको छ।
हाल कर्जामा लागु भइरहेको औसत ब्याजदर ७ दशमलव ६६ प्रतिशत रहेको छ। उपलब्ध तथ्यांकअनुसार यो करिब १४ वर्षयताकै न्यून स्तर हो। नेपाल राष्ट्र बैंकले २०६८ फागुनदेखि कर्जाको औसत ब्याजदर मासिक रूपमा प्रकाशन गर्न थालेको हो। त्यसयता अहिलेको दर सबैभन्दा तल्लो बिन्दुमा पुगेको देखिन्छ।
२०६८ ताका बैंकहरूको कर्जाको औसत ब्याजदर १४ प्रतिशतभन्दा माथि थियो। त्यसपछि केही अवधिमा यो दर ८ प्रतिशतसम्म झरेको भए पनि अहिलेको स्तर ८ प्रतिशतभन्दा तल पुगेको हो।
ब्याजदर दशककै न्यून बिन्दुमा आइपुग्दा पनि निजी क्षेत्रतर्फको लगानी अपेक्षित रूपमा बढ्न सकेको छैन। नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा बैंकहरूले निजी क्षेत्रलाई प्रवाह गरेको कर्जाको वार्षिक वृद्धिदर ७.८ प्रतिशतमा सीमित छ। असारयता तुलना गर्दा कर्जा प्रवाह वृद्धिदर ०.८९ प्रतिशतमात्र देखिन्छ।
आधारदर झर्यो, कर्जा अझ सस्तो
गत वर्ष (२०८१ असोज) वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव ३३ प्रतिशत थियो। यस वर्ष सो दर १ दशमलव ७३ प्रतिशत बिन्दुले घट्दै ५ दशमलव ६० प्रतिशतमा सीमित भएको हो।
राष्ट्र बैंकको ‘आधारदर निर्धारण कार्यविधि’ अनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो औसत लागतमा ०.७५ प्रतिशत प्रतिफल थप गरी आधारदर तोक्नुपर्छ। त्यसपछि पछिल्ला तीन महिनाको औसत आधारदरमा निश्चित प्रतिशत ‘प्रिमियम’ थप गरी बैंकहरूले कर्जाको ब्याजदर निर्धारण गर्छन्।
त्रैमासिक औसत आधारदर घट्दा कर्जाको ब्याजदर पनि स्वतः घट्ने प्रावधान छ। तर बैंक र ग्राहकबीच तोकिएको प्रिमियम दर भने परिवर्तन गर्न पाइँदैन। हाल बैंकहरूले आधारदरमा ०.२५ देखि ४ प्रतिशतसम्म प्रिमियम थप गरी कर्जा प्रवाह गरिरहेका छन्। जसमा लगानी क्षेत्र र ऋणीको जोखिमका आधारमा दर फरक-फरक हुन्छ।
२०८२ असोजमा सबै वाणिज्य बैंकहरूको आधारदर घटेको पाइएको छ। तीमध्ये तीन बैंकको आधारदर ५ प्रतिशतभन्दा तल झरेको छ।
२० वाणिज्य बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधारदर सबैभन्दा कम ४ दशमलव २७ प्रतिशत छ भने एनआईसी एसिया बैंकको सबैभन्दा बढी ६ दशमलव ६० प्रतिशत रहेको छ।
बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि ब्याजदरलाई लक्षित सीमाभित्र राख्न नेपाल राष्ट्र बैंकले पछिल्ला हप्ताहरूमा लगातार मौद्रिक साधनमार्फत बजारबाट पैसा उठाइरहेको छ।
निकट भविष्यमा निक्षेप ब्याजदर स्थिर रहने र कर्जाको ब्याजदर केही समयका लागि अझ सस्तो हुने संकेत देखिन्छ तर निजी क्षेत्रले नयाँ लगानी विस्तार नगरेसम्म ब्याजदरको कमीले अर्थतन्त्रमा प्रत्यक्ष गतिशीलता ल्याउन नसक्ने विश्लेषकहरू बताउँछन्।
कुन बैंकको आधारदर कति?
|
बैंकको नाम |
२०८१ असोज (प्रतिशत) |
२०८२ असोज (प्रतिशत) |
|
स्ट्यान्डर्ड चार्टर्ड |
५.७१ |
४.२७ |
|
राष्ट्रिय वाणिज्य |
६.०५ |
४.५४ |
|
एभरेष्ट |
६.५८ |
४.८६ |
|
नेपाल बैंक |
६.७२ |
५.१६ |
|
एशियन |
७.२९ |
५.४० |
|
कृषि विकास |
७.३४ |
५.४२ |
|
नेपाल इन्भेष्टमेण्ट मेगा |
७.०२ |
५.५८ |
|
सानिमा |
७.२४ |
५.५९ |
|
प्रभु |
७.६५ |
५.६८ |
|
माछापुच्छ्रे |
७.६१ |
५.८१ |
|
कुमारी |
७.४९ |
५.८२ |
|
एनएमबी |
७.७९ |
५.८९ |
|
लक्ष्मी सनराइज |
७.९२ |
५.९० |
|
सिद्धार्थ |
७.९२ |
५.९० |
|
सिटिजन्स |
७.७२ |
५.९६ |
|
नेपाल एसबीआई |
७.९२ |
५.८९ |
|
हिमालयन |
८.३५ |
६.०८ |
|
एनआईसी एशिया |
८.३७ |
६.६० |