महोत्तरी- बर्दिबास-११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजारभन्दा बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका बिरुवा लगाएका छन्।
कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागतीका बिरुवा लगाइएको उनको भनाइ छ। यहाँको माटोमा अम्बा र कागती दुवै फल लागे पनि यति धेरै मात्रामा भने खेती गरिएको देखिँदैन।
किसान गौतमले गत वर्षको मङ्सिरदेखि अम्बाका बिरुवा रोप्न थालेका हुन्। अहिले थाइग्रिन र ताइवानपिंक जातका अम्बाका बिरुवा रोपिएका उनको भनाइ छ। 'गत मङ्सिरमा रोपिएका थाइग्रिन अम्बा यसपालि फलेका छन्, ताइवानपिंक चाहिँ यसपालि गत भदौमा रोपिएको हो।'
मधेसमा यति धेरै परिमाणमा अम्बा लगाउने आफू पहिलो किसान हुनसक्ने उनी बताउँछन्। अम्बा अझै पाँचसय बोट थप्ने उनको योजना छ। अम्बा एक बिघामा एक हजार बोट अटे पनि कागती भने पाँचसय बोटमात्र लगाउनुपर्ने बागवानी प्राविधिकहरूको सल्लाहअनुसार यस्तो गरिएको उनले जानकारी दिए। कागती कुमकार्ड भनिने पाकिस्तानी जातको रोपिएको किसान गौतमले बताए।
यसका लागि करिब १० लाख रूपैयाँ खर्च भएको उनको भनाइ छ। 'बिरुवा कोलकाताबाट मगाइएका हुन्, बारीमा आइपुग्दा प्रतिबोट एकसय ५० पर्यो, खाल्डो खन्न र माटोको उपचार एवं मलसमेत प्रत्येक बोटमा पाँचसय रूपैयाँ लागेको छ', उनले भने, 'यसबाहेक सुरुको जोतखन खर्च अलग लागेको छ।'
यी बोटले तीन वर्षका भएपछि सघन उत्पादन दिन थाल्नेछन्। अम्बाले बर्सेनि प्रतिबोट ४० किलोग्राम र कागती २० किलोग्राम उत्पादन हुने बागवानी विज्ञले बताएका उनले जानकारी दिए। अम्बा र कागतीले ३० वर्षसम्म उत्पादन दिने बागवानी विज्ञले सुझाएका उनको भनाइ छ।
किसान गौतमले लगाएका तीजतका बिरुवाले यहाँको माटो र हावापानीमा राम्ररी फस्टाउने कृषिविज्ञ बर्दिबास-५ का वाणिकराज काफ्ले बताउँछन्। 'माटो र हावापानी अम्बा र कागतीका लागि यहाँ अनुकूल नै छ, अन्य उपचार र रेखदेख भने नियमित गर्नुपर्छ', उनले भने।
बगैँचाको हेरचाह र उत्पादनको बिक्री व्यवस्थापन घरै बसेर गर्न सकिने विश्वासमा यो काममा हात हालिएको उनको भनाइ छ। मधेसमा आँप, लिची बाक्लै लगाइने भए पनि व्यावसायिकरूपमै यति धेरै परिमाणमा अम्बा र कागती लगाइएको भने पाइँदैन।
उनको कामप्रतिको लगाव र समर्पण नजिकबाट बुझेका उनका काका ७५ वर्षीय चन्द्रलाल गौतम भन्छन्, 'निलहरि प्रत्येक काम गहिरिएर योजनाबद्ध गर्ने बानीका छन्, यिनले हात हालेको काम बिस्तुर गएको देखिन्न।' अहिले खयरमारामा निलहरिको यो बगैँचा हेर्न वरिपरिका मान्छे बाक्लै पुग्ने गरेका छन्। रासस