शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक २५ २०८२
बेमौसमी वर्षाले सिरहामा १० हजार हेक्टर धानबालीमा क्षति

अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिञ्चित क्षेत्र भएकाले त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

सिरहा- मोन्था चक्रवातको प्रभावले भएको बेमौसमी वर्षाका कारण जिल्लामा करिब १० हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पुगेको छ।

जिल्लाका आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ स्थानीय तहका कृषि शाखाले संकलन गरेको प्रारम्भिक विवरणअनुसार करिब १० हजार ७२८ हेक्टर क्षेत्रमा रहेका धानबालीमा क्षति पुगेको हो।

कृषि शाखाबाट प्राप्त विवरणअनुसार लहान नगरपालिकामा सबैभन्दा बढी दुई हजार २३२ हेक्टर, औरही नगरपालिकामा एक हजार ३५८ हेक्टर र नरहा गाउँपालिकामा करिब ८०० हेक्टर क्षेत्रमा धानबालीमा क्षति पुगेको छ।

लहान नगरपालिका कृषि शाखा प्रमुख प्रकाश साहका अनुसार किसानले लगाएका बासमती र सुक्खा प्रजातिका धानमध्ये करिब ५० प्रतिशत बालीमा क्षति पुगेको छ। उनका अनुसार किसानले राम्रो मूल्य पाउने आशामा उन्नत जातका धान लगाएका थिए।

पूर्वपश्चिम लोकमार्गबाट दक्षिणतर्फका अधिकांश क्षेत्र बोरिङ, भूमिगत सिँचाइ र कमला नहर प्रणालीबाट सिञ्चित क्षेत्र भएकाले त्यहाँ लगाइएका उन्नत जातका धानमा बढी क्षति पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ।

'पाक्न लागेको धानमा वर्षाले क्षति पुर्‍याएपछि स्वतः उत्पादन घट्ने निश्चित छ', केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने, 'धानका बोट ढलेका कारण दाना कुहिने र उत्पादन घट्ने अवस्था देखिएको छ।'

केन्द्रका अनुसार जिल्लामा ५४ हजार हेक्टरमा वर्षे र एक हजार ३४५ हेक्टरमा चैते धानखेती हुँदै आएको छ। अघिल्लो वर्ष ५५ हजार ३४५ हेक्टर क्षेत्रमा दुई लाख २८ हजार ६९६ मेट्रिकटन धान उत्पादन भए पनि यो वर्ष उत्पादनमा उल्लेख्य कमी आउने अनुमान गरिएको छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक २५ २०८२१०:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend