शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

मासु र दूधमा आत्मनिर्भर बनाउन अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

आइतबार, कात्तिक २३ २०८२
मासु र दूधमा आत्मनिर्भर बनाउन अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो।

म्याग्दी- जिल्लाको अन्नपूर्ण गाउँपालिकाले पशुपालक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम सञ्चालन गरेको छ। मासु र दूध उत्पादन वृद्धि गरी आयात घटाउने र आत्मनिर्भर बनाउने उद्देश्यले पालिकाले कृषकलाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको हो।

किसानलाई व्यावसायिक बनाउन र उत्पादन बढाउन नगदसहित प्रोत्साहन गर्ने नीति लिइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए। चालु आर्थिक वर्षका लागि सात लाख ५० हजार रूपैयाँ बजेट विनियोजन भएको उक्त कार्यक्रममार्फत भेडाबाख्रा र गाईभैँसीपालक किसानले सुविधा पाउने छन्।

भेँडाबाख्राको हकमा कम्तीमा १५ वटा माउ, गाईभैँसीको हकमा कम्तीमा तीनवटा र वार्षिक एक हजार लिटर दूध बिक्री गर्नुपर्ने मापदण्ड रहेको उनले जानकारी दिए।

अध्यक्ष पुनका अनुसार लघुउद्यमीलाई वार्षिक १२ हजार, साना उद्यमीलाई १८ हजार, मझौला उद्यमीलाई २५ हजार र व्यावसायिक कृषकलाई ३५ हजार रूपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिने कार्यविधि छ।

कार्यक्रममा आबद्ध हुन चाहने किसानलाई आगामी मङ्सिर ३ गतेभित्र गाउँपालिका वा वडा कार्यालयमा प्रस्ताव पेस गर्न अनुरोध गरिएको छ। चालु आवमा ३० जना किसानलाई उत्पादनमा आधारित अनुदान वितरण गर्ने गाउँपालिकाको लक्ष्य छ।

पहिलोपटक कार्यान्वयन हुन लागेको यो कार्यक्रमको प्रभावकारिता हेरेर आगामी वर्ष थप बजेट व्यवस्थापन गरिने अध्यक्ष पुनले बताए।

यसैगरी, अन्नपूर्ण गाउँपालिकाले यस वर्ष भकारो सुधारका लागि १० लाख, घुम्ती गोठका लागि आवश्यक सामग्री उपलब्ध गराउन तीन लाख र माछामासु तथा डेरी पसल निर्माण तथा सुधारका लागि चार लाख रूपैयाँ बजेट विनियोजन गरेको छ। रासस


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२१३:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend