शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

सुन्तलाले पायो राम्रो भाउ, बगैँचाबाटै बिक्री हुँदा किसानलाई सहज

आइतबार, कात्तिक २३ २०८२
सुन्तलाले पायो राम्रो भाउ, बगैँचाबाटै बिक्री हुँदा किसानलाई सहज

गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला संकलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन्।

त्रिवेणी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको बौदीकाली-५, बबकका गेशबहादुर रानालाई यसपटक बोटबाटै सुन्तला राम्रो मूल्यमा बिक्री हुँदा खुसी लागेको छ। अघिल्ला वर्षमा सुन्तलाको बजार खोज्दै धाउनुपर्ने र मूल्यसमेत कम पर्ने गरेकामा अहिले सहजरुपमा सुन्तला बगैँचाबाटै बिक्री हुँदा खुसी लागेको उनले बताए।

जिल्लाको सुन्तला उत्पादनको प्रख्यात गाउँका रुपमा चिनिएको बबकका सुन्तला किसानले सहजै बगैँचाबाटै सुन्तला बिक्री गर्दै आएको रानाले बताए। स्थानीय व्यापारीले बगैँचाबाटै हाल प्रतिकिलो ६० देखि ६५ रूपैयाँसम्ममा सुन्तला बिक्री गर्दै आएको उनले बताए।

'एकातर्फ सहजरुपमा बगैँचाबाटै सुन्तला बिक्री भएको छ, अर्कोतर्फ सुन्तलाको मूल्यसमेत अघिल्ला वर्षकोभन्दा धेरै मूल्य पाउँदा किसान उत्साहित बनेका छन्', रानाले भने। गतवर्ष ५० देखि ५५ रूपैयाँ प्रतिकिलोसम्म सुन्तला बिक्री भएकामा अहिले मूल्यसमेत केही बढेको उनले बताए।

नवलपुरको पहाडी क्षेत्रमा लगाइएको सुन्तला टिप्न यतिबेला किसान व्यस्त छन्। टिपिएका सुन्तला गाउँबाटै बिक्री हुँदा थप सहज भएको बुलिङ्टार-५, राइकोटका सुन्तला किसान कृष्ण सारुले बताए उनको मात्रै करिब एक हजार सुन्तलाका बोट रहेका छन्। सुन्तला पाकेपछि स्थानीय बजारमा बिक्री गर्दै आएको उनले बताए।

मौसम राम्रो भएकाले यसपटक सुन्तलाको दानासमेत राम्रो लागेको र बजार भाउ राम्रो प्राप्त गरेको सारुले बताए। गत वर्ष राइकोटमा उत्पादन भएका सुन्तला साना दाना भएकामा अहिले दाना राम्रो लागेको उनले बताए।

उत्पादन भएको सुन्तला स्थानीय कावासोती बजार क्षेत्रमा नै आफूले खपत गर्दै आएको सारुले बताए। 'अहिले सुन्तला बजार पठाउनेक्रम छ, जिल्लाका स्थानीय बजारमा खपत हुँदै आएको छ, पछि के हुन्छ हेरौँ', सारुले भने। 

जिल्लाको पहाडी क्षेत्र बबक, राइकोट, जौवारी, ढोडेनी, देउरालीलगायत क्षेत्रमा सुन्तला उत्पादन हुने गरेको छ। अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन्। स्थानीय व्यापारी बगैँचामा नै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्। कतिपय व्यापारीले फोन गरेर सुन्तला माग गरेपछि पठाइदिने गरेको बबकका किसान रानाले बताए।

नवलपुरका स्थानीय बजारसँगै चितवनको नारायणगढबाट सुन्तला माग हुँदै आएको उनले बताए। 'व्यापारीले माग राम्रै गरिरहेका छन्, यही मूल्य तयगरी जोखेर पठाएमात्रै हुन्छ, कुन बजारमा लगेर बेच्ने भन्ने चिन्ता अहिले छैन', रानाले भने। 

किसान आफैले सुन्तला बजारमा पुर्‍याउँदा मूल्य निर्धारण कति हुने, कुन ठाउँ लैजाने भन्ने चिन्ता हुने गरेकामा गाउँबाटै मूल्य तय गरी व्यापारीको मागअनुसार पठाउने गरेको उनको भनाइ छ। गाउँका विभिन्न स्थानमा स्थानीय व्यापारीलेसमेत सुन्तला संकलन गरी सोही ठाउँबाट खरिद बिक्री गर्दै आएका छन्। यसले गर्दा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ।

नवलपरासी पूर्व नवलपुरमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ नवलपुरद्वारा सुन्तला जातका फलफूल जोन कार्यक्रम सञ्चालन गरेपछि जिल्लामा व्यावसायिकरुपमा सुन्तलाको उत्पादन बढ्दै गएको छ। कार्यालयका सूचना अधिकारी रणबहादुर महतोका अनुसार नवलपुरमा १८० हेक्टर क्षेत्रफल सुन्तलाजात फलफूलको उत्पादशील क्षेत्र रहेको छ। 

गत आर्थिक वर्षमा नवलपुरमा एक हजार ४०० टन सुन्तला उत्पादन भएको थियो। सूचना अधिकारी महतोका अनुसार कागती १८ टन उत्पादन भएको थियो। गत वर्ष किसानले सुन्तला बिक्रीबाट करिब ८ करोड ९० र कागती बिक्रीबाट १७ लाख ८६ हजार रूपैयाँ आम्दानी गरेका थिए। रासस


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend