शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

वर्षाले देशभर ३ अर्ब ५५ करोड रुपैयाँबराबरको कृषि तथा पशुपक्षी क्षेत्रमा क्षति

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक २३ २०८२
वर्षाले देशभर ३ अर्ब ५५ करोड रुपैयाँबराबरको कृषि तथा पशुपक्षी क्षेत्रमा क्षति

खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको छ।

काठमाडौं- कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गत असोजमा भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँबराबरको क्षति भएको जनाएको छ।  

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भारी वर्षाका कारण कृषि बाली, पशुपक्षी, पूर्वाधार र बीउबिजनतर्फ भएको क्षतिको विवरण संकलन गरेको हो। मन्त्रालय मातहतका सबै प्रदेशमा रहेका कृषि कार्यालयले सम्बन्धित स्थानीय तहको समन्वय र सहयोगमा क्षतिको तथ्यांक संकलन गरेका हुन्। 

मन्त्रालयले संकलन गरेको तथ्यांककका आधारमा बाढीबाट प्रभावित किसानलाई सहयोग, सुविधा, बिमाको सहजीकरण तथा राहत उपलब्ध गराउन राष्ट्रिय विपद् प्राधिकरणसँग मन्त्रालयले समन्वय गर्ने सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए। उनका अनुसार मन्त्रालयले क्षतिको थप विश्लेषण गर्न कार्यदल गठन गरेको छ। 

खेतमा काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको तथा वर्षाले धानबालीमा पुर्‍याएको क्षतिका कारण उत्पादनमा समेत कमी आउने प्रक्षेपण गरिएको सूचना अधिकारी जोशीले बताए। उनका अनुसार काटेको धान उठाउन नपाउँदा ठूलो क्षति भएकाले सम्बन्धित किसानलाई आवश्यकताअनुसार सहयोग तथा सुविधा उपलब्ध गराइने छ। 

मल, बीउबिजन, प्रविधि, प्राविधिक सीपलगायत क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आएको मन्त्रालयसँग पर्याप्त बजेट नभएकाले विपद् प्राधिकरणमार्फत एकद्वार प्रणालीबाट प्रभावित किसानलाई सहयोग प्रदान गरिने जोशीले जानकारी दिए। 

उनका अनुसार क्षतिको तथ्यांककका आधारमा आगामी दिनमा थप सतर्कता तथा जोखिम न्यूनीकरणका उपायसम्बन्धी अध्ययन तथा अनुसन्धान गरी विस्तृत रूपमा योजना निर्माण गरी कार्यान्वयन गरिने छ।


प्रकाशित : आइतबार, कात्तिक २३ २०८२०९:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend