शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

खोटाङमा वर्षाले ७० प्रतिशत धानबालीमा क्षति, किसानलाई भोकमरीको चिन्ता

शनिबार, कात्तिक २२ २०८२
खोटाङमा वर्षाले ७० प्रतिशत धानबालीमा क्षति, किसानलाई भोकमरीको चिन्ता

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन्।

खोटाङ- यही कात्तिक १५ गतेदेखि चार दिनसम्म परेको अविरल वर्षाका कारण खोटाङमा ७० प्रतिशतभन्दा बढी धानबालीमा क्षति गरेको छ। 

कृषि ज्ञान केन्द्र खोटाङले दिएको जानकारीअनुसार दश स्थानीय तह रहेको खोटाङमा १५ प्रतिशत थन्क्याउनका लागि काटेर ढालेको, ४५ प्रतिशत पाकेर पहेँलो भएको र दश प्रतिशत हरियो अवस्थाको धानबालीमा क्षति गरेको हो।

दश स्थानीय तह रहेको जिल्लामा यस वर्ष नौ हजार ९८८ दशमलव ०३ हेक्टर खेतमा धानबाली लगाइएको छ। जसमध्ये ६ हजार ९९१ दशमलव ६ हेक्टर खेतमा लगाइएको धानबालीमा अविरल वर्षाले क्षति गरेको कृषि ज्ञान केन्द्र खोटाङका प्रमुख विशाल मोदीले जानकारी दिए।

केही दिनयता अविरल वर्षा रोकिएसँगै जिल्लाका किसानहरू यसअघि वर्षाले क्षति पुर्‍याएर बाँकी रहेको धानबाली थन्क्याउने चटारोमा छन्। थन्काउने बेलामा परेको अविरल वर्षाले क्षति पुर्‍याएको धान थन्क्याउन यतिखेर किसानहरू खेत-खेतमा जुटिरहेका हुन्।

ठूलो मात्रामा धानबालीमा क्षति पुगेपछि चिन्तित बनेका किसानहरू बाँदरलगायतका वन्यजन्तुहरूबाट समेत धान जोगाउने हतारोमा छन्। देशभर परेको वर्षाका कारण दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा मात्र करिब ४१ दशमलव ६३ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ।

पन्ध्र वडा रहेको यो नगरपालिकामा तीन हजार ५०० हेक्टरमा धानखेती गरिन्छ। यसमा करिब आठ हजार ९९५ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ।

विशेषगरी काटेर पाँजो लगाएको धानमा ठूलो क्षति पुगेको वडा नं ११ खार्मीका युवा कृषक हेमन्त राईले जानकारी दिए। 'अविरल वर्षाका कारण काटेर आलीमा राखिएको धान आलीमै उम्रिएका छन्। अविरल वर्षाले धान, कोदो, फापरलगायतका बाली तथा फलफूलमा ठूलो मात्रामा क्षति पुगेको छ', उनले भने, 'पाकेर थन्क्याउन लागिएको प्रमुख बाली धानमा वर्षाले क्षति गरेपछि भोकमरी हुने निश्चित छ। यसमा सरकारले राहतको व्यवस्था गर्नुपर्छ।'

हलेसी तुवाचुङ नगरपालिकामा पनि धानबालीमा ठूलो क्षति भएको नगरपालिकाका प्रवक्ता कमल गिरीले बताए। जिल्लाको दोस्रो ठूलो स्थानीय तहमा पर्ने यो नगरपालिकाका १२० हेक्टरमा धानखेती गरिन्छ। यसमा ३०८ दशमलव चार मेट्रिकटन धान उत्पादन हुने गरेको छ।

जन्तेढुंगा गाउँपालिकामा पनि धानखेतीमा व्यापक क्षति पुर्‍याएको गाउँपालिका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए। उपप्रमुख खड्काका अनुसार यो गाउँपालिकामा ४० प्रतिशत धानखेती नष्ट भएको छ।

सात वडा रहेको यो गाउँपालिकामा २४० दशमलव ९६ हेक्टरमा धानखेती गरिन्छ। यसमा करिब ६१९ दशमलव २७ मेट्रिकटन उत्पादन हुने गरेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।

बराहापोखरी गाउँपालिकामा पनि धानखेतीमा क्षति पुगेको छ। यो गाउँपालिकामा ६० प्रतिशतभन्दा बढी पुर्‍याएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिए। यो गाउँपालिकामा ६५७ हेक्टरमा धानखेती गरिन्छ। यसमध्ये एक हजार ६८८ दशमलव ४९ मेट्रिकटन उत्पादन हुने गाउँपालिकाको तथ्यांकमा उल्लेख छ।

खोटेहाङ गाउँपालिकामा पनि धानखेतीमा ठूलो क्षति पुगेको गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिएका छन्। यो पालिकामा एकीन विवरण नआइसके पनि करिब ४० प्रतिशत धान पानीले नष्ट गरेको छ। 

गाउँपालिकामध्ये सबैभन्दा ठूलो (नौ वडा रहेको) यो गाउँपालिकामा एक हजार २०० हेक्टरमा धानखेती गरिन्छ। यो गाउँपालिकामा करिब तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुँदै आएको छ। 

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा पनि पानीले धानखेतीमा क्षति पुर्‍याएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिएका छन्। यो पालिकामा पनि एक हजार २०० हेक्टरमा तीन हजार ८४ मेट्रिकटन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

साकेला, रावाबेँसी, केपिलासगढी र ऐसेलुखर्क गाउँपालिकामा पनि झरीले धानबालीमा व्यापक क्षति पुर्‍याएको छ। साकेला गाउँपालिकामा आठ हेक्टरमा दुई हजार ५६ मेट्रिकटन, रावाबेँसीमा ८५० हेक्टरमा दुई हजार १८४ दशमलव पाँच मेट्रिकटन, केपिलासगढीमा ७५० हेक्टरमा एक हजार ९२७ दशमलव पाँच मेट्रिकटन र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा दुई हजार ५७० मेट्रिकटन धान उत्पादन हुँदै आएको छ। 

जिल्लाका दशवटै स्थानीय तहमा गरी करिब २६ हजार मेट्रिकटन धान उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्र खोटाङले उल्लेख गरेको छ। यस वर्ष धान रोप्नका लागि समयमै वर्षा भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको थियो। रासस


प्रकाशित : शनिबार, कात्तिक २२ २०८२१०:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend