शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

पूर्वसैनिक घलेको लोभलाग्दो ड्रागन फ्रुट खेती

बिहीबार , कात्तिक २० २०८२
पूर्वसैनिक घलेको लोभलाग्दो ड्रागन फ्रुट खेती

उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक  ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए। घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्।

काठमाडौं- करिब २८ वर्ष भारतीय सेनामा सेवा गरी अवकाश प्राप्त कृपाश्वर घले गुरुङले सुनसरीको रामधुनी नगरपालिका–७ रानीपोखरीमा व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आएका छन्।

उनले विसं २०७४ मा स्थापना गरेको ‘तर्जुमा ड्रागन फ्रुट कृषि फार्म’बाट हाल वार्षिक  ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको बताए। घलेले एक बिघा क्षेत्रफलमा खेती गरिरहेका छन्। 

गुरुङका अनुसार करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एक बिरुवाबाट खेती सुरु गरिएको थियो। सुरुमा फलको बजार मूल्य तथा स्वास्थ्य उपयोगबारे स्पष्ट जानकारी नभए पनि माग र मूल्य वृद्धिसँगै खेती बिस्तार गर्दै लगिएको र हाल यही मुख्य आम्दानीको स्रोत बनेको उनले जानकारी दिए।

व्यवसायी गुरुङले भने, ‘फार्ममा हाल करिब २५० बोट ड्रागन फ्रुट लगाएको छु। अन्य फलफूलले वर्षमा एकपटक मात्र फल दिने भए पनि ड्रागनले वर्षमा नौ पटकसम्म उत्पादन दिन सक्छ । त्यही भएकाले आय स्थिर हुन्छ।’

उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुँदै आएको छ। वार्षिक रूपमा रु चार लाखभन्दा बढीको बिरुवा बिक्री हुने गरेको गुरुङले बताए। पहिले प्रतिबोट २०० देखि ४०० सम्ममा बिक्री हुने बिरुवा हाल मागअनुसार ५० देखि ७० मा बिक्री हुने गरेको उनले बताए। ड्रागन फ्रुट भने खुद्रा मूल्य प्रतिकिलो ४०० र होलसेलमा ३५० मा बिक्री हुने गरेको छ। 

फार्ममा मासिक १५ हजार तलबमा दुई जना स्थायी कर्मचारी र दैनिक ७०० सय ज्यालादरमा दर्जनभन्दा बढी कामदारले काम पाइरहेका छन्। फल टिप्ने तथा मल हाल्ने याममा कामदार संख्या अझ बढी हुने गरेको छ।

गुरुङले भने, ‘फार्म सञ्चालन, मलखाद्य, औजार तथा श्रमिक लागतवापत वार्षिक करिब आठ लाख खर्च हुने गरेको छ। गत वर्ष २२ मेट्रिकटन उत्पादन भएको ड्रागन फ्रुट यस वर्ष २७ मेट्रिकटनभन्दा बढी उत्पादन भएको छ। उत्पादित फल धरान, इटहरी, इनरुवा, विराटनगर र धेरैजसो काठमाडौँ, पोखरा र हेटौंडासम्म बिक्रीका लागि पठाउने गरेको छु।’

आम्दानी राम्रो भएकाले पछिल्लो समय यस खेतीतर्फ अन्य युवाको पनि आकर्षण बढ्दै गएको छ। अवकाशपछि कृषि उद्यममा लागेका घलेका अनुसार देशमै बसेर कृषि व्यवसायमार्फत राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारी पनि सिर्जना गर्न सकिने सम्भावना छ। हाल सुनसरीको रामधुनी नगरपालिका–७ मा मात्र १० घरधुरीभन्दा बढीले ड्रागन खेती गर्दै आएका छन्। विदेशबाट फर्केका युवाहरू पनि ड्रागन खेतीमा लागिरहेका छन्। रासस 


प्रकाशित : बिहीबार , कात्तिक २० २०८२०७:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend